काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले यो विषय जानकारी गराएका हुन ।

सन् २०४० सम्म बङ्गलादेशले नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ ।

राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता–जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका साथै असल छिमेकीको सम्बन्ध रहेको बताए ।

प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए ।