विराटनगर । उज्यालोको पर्व तिहारले घरघरमा झिलिमिली भित्र्याउँदा बजार पनि गुल्जार बनेको छ । बजारमा किनमेलका लागि भीड बढ्न थालेको छ । यस वर्षको तिहार आइतबारदेखि सुरू भएको छ । तिहार सुरूभएसँगै बजारमा चहलपहल बढेको छ ।
निजी घर र सार्वजनिक क्षेत्र पनि झकिझकाउ हुन थालेका छन् । बजारमा तिहारजन्य सामानको बिक्री ह्वात्तै बढेको छ । तिहारमा धातुजन्य सामान, सप्तरंगी टीका, पूजाका सामग्री, भाइमसला, फलफूल, सयपत्रीलगायत पुष्प, झिमिमिली बत्तीलगायतको बढी माग हुन्छ ।
त्यस्तै लत्ताकपडाको कारोबार पनि यो समय धेरै हुने गरेको व्यवसायी बताउँछन् । बजार पसलमा किनमेल गर्नेको घुइँचो लागेको छ । विराटनगरको गुद्री लाइनको बजार, मेनरोडसहित पसलमा तिहारजन्य वस्तुको व्यापार भइरहेको छ । आर्थिक संकटले थलिएको अवस्थामा चाडपर्व सुरू भएपछि व्यापार हुन थालेपछि खुसी लागेको विराटनगर ९ का मेनरोडका सन्तोष आर्यालले बताए । व्यवसायी तिहारले चहलपहल बढाएकामा खुसी छन् ।
तिहारमा धनतरेस (धातुजन्य वस्तु सुन, चाँदी, पित्तल, तामाका सरसामान) किन्ने चलन छ । गमला, प्याला, दियो, कलसलगायतका सामग्रीहरू धमाधम बिक्री भइरहेका छन् । धनतेरसमा धेरैले यस्ता वस्तु खरिद गरेको व्यवसायीहरू बताउँछन् । धनसँग जोडिएको भन्दै त्यस्ता सामान खरिद गर्नेको संख्या बढ्दै गएको छ ।
तिहारमा भाडावर्तनका वस्तुको माग अत्याधिक हुने गरेको छ । तिहारमा यस्ता सामानको खपत बढ्छ’, व्यवसायी आचाचार्यले भने, ‘अन्य समयको भन्दा १० गुणा बढी सामान तिहारमा व्यापार हुन्छ ।’ तिहारमा खपत हुने यस्ता सामान विदेशबाट आयात हुने गरेको छ । दसैंमा भन्दा तिहारमा चहलपहल बढेको उनले बताए । तिहारमा पुष्पको माग पनि अत्याधिक हुनेगर्छ । तिहार लक्षित पुष्पखेती हुनेक्रम पनि बढेको छ । तर, मागको आधा भन्दा बढी त भारतबाट आयात भइरहेको छ । विराटनगर ९ हनुमान रोडमा डुलाएर पुष्प माला बिक्री गर्दै आएकी सिता साहले सोमबार पाँच हजारको माला बिक्री गरेको सुनाइन । उनले सडकमा डुलाएर प्रतिगोटा ४० रुपैयाँमा भाइटिकाका दिन लगाइने माला बिक्री गरेको सुनाइन् । ‘दिनभरीमा पाँच हजारको फुलको माला बिक्री गरेँ,’ उनले भनिन्, ‘भाइटिका आउनुभन्दा पाँच दिन अगाडिदेखि यसरी सडकमा डुलाएर माला बिक्री गर्दै आएको छु । अहिले दैनिक ५÷६ हजारको माला बिक्री हुने गरेको छ ।’

विराटनगरमा बिक्रीको लागि राखिएको माला भारतबाट ल्याइएको हो । यहाँका होलसेल पसलले माला आयात गरेपछि उनीहरूले खुद्रालाई बिक्री गर्दै आएका छन् । तिहार झिलिमिली पर्व हो । तिहारअघि नै
प्रायःजसो घरमा झिलीमिली बत्ति बलिसकेको छ । झिलिमली बत्तीले उज्यालो, उत्साह र उंमग दिने भएकाले यस्तो बत्ती जोड्ने गरेको विराटनगरकी माया खड्का बताउँछिन् । ‘घरमा झिलिमिली बत्ति बल्दा राम्रो लाग्छ, हरेक वर्ष किन्नुपर्छ भन्ने जरुरी पनि हुँदैन,’ उनले भनिन्, ‘एकचोटी किनेको सुरक्षित राखेमा २–३ वर्षमा पनि उपयोग गर्न सकिन्छ ।’ तर, फरकखालका झिलिमिली देखेमा किनेर लैजाने गरेको उनले सुनाइन् ।

तिहारमा भाइमसलाको उपयोग हुने गरेको छ । तिहारमा काजु, बदाम, किसमिस, ल्वाब, सुपारी, मिठाई, चक्लेटलगायतका सुक्खा फल समावेश गरी भाइमसला किन्नेको घुइँचो लागेको छ । तिहारमा सेलरोटी पकाउन नभ्याउने, रोटी मन नपराउनेले यस्तो भाइमसला दाजुभाइलाई दिने गर्छन् । फिनीरोटी, सेलरोटी, अनरसा, सिन्कामारीको सट्टा भाइमसलाको उपयोग बढ्दै गएको छ । तर, यस्ता वस्तु पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । तिहारमा विराटनगरको फुटपातमै तिहारजन्य सामान राखेर बिक्री गर्ने गरेका छन् । फलफूल, फूल, भाइमसला, देवीदेवताका मूर्ति, तस्बिरलगायतका सामग्री सडक छेउमै राखेर बिक्री गर्छन् ।
व्यापारीहरूले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसला, मखमली फूलको माला, ओखर, सप्तरंगी टीका, दीयोलगायत सामग्री बिक्रीका लागि राखेका छन् । तिहारको अवसरमा भाइ मसला सँगै मिठाई अनि फलफुलको व्यापार सबैभन्दा बढी हुन्छ । अझ तिहारमा उज्यालोका लागि विभिन्न रबका बत्तिको व्यापारसमेत राम्ररी हुने गरेको छ ।


