विराटनगर । राजस्व अनुसन्धान कार्यालय इटहरीका पुराना प्रमुखले सरुवा भएको ठाउँमा जान नमानेपछि नयाँ प्रमुख हाजिर गर्नबाटै वञ्चित भएका छन् । कार्यालयको प्रमुखमा खेम ओझा सरुवा भएर आए पनि बहालवाला प्रमुख तीर्थ खनालले सरुवा भएको ठाउँमा जान मानेका छैनन् ।
कार्यालयले राजश्व चुहावट नियन्त्रणको कार्यमा सहजीकरणको कार्य गर्दै आएको छ । इटहरीमा २०६९ सालमा कार्यालय स्थापना भई राजश्व छलीलगायत विषयको अनुसन्धान र कारवाही गर्दै आएको कार्यालयमा प्रमुख को हो भन्ने विवाद समेत निम्तिएको छ ।
निर्वाचन आचारसंहिता लागू हुनुपर्व नै ओझा सरुवा भई आए पनि निवर्तमान कार्यालय प्रमुख खनालले सरुवा भएको कार्यालयमा जान मन नगरेका कारण चाडबाडको बेलामा समेत काम गर्न कठिनाई भएको कार्यालय स्रोतले जनाएको छ । एक कर्मचारीले भने, ‘पुराना कार्यालय प्रमुख जान मान्नु भएको छैन्, नयाँ आउनु भएका कार्यालय प्रमुखले पदभार ग्रहण गरी काम शुरु गर्नु भएको छैन । कसरी काम गर्ने भन्नेमा हामी अन्योलमा परेका छौं ।’
सरुवा प्रक्रिया पूरा भएपनि खनालले सरुवा भएको कार्यालयमा नगएको ती कर्मचारीले बताए । केही अघि विराटनगरबाट पक्राउ परेको ठूलो परिमाणको सुपारी राजश्व कार्यालयले दशैंको बिदाको मौका पारेर छाडिदिएको थियो ।

