धरान । तिहार नजिकिदै गर्दा छिमेकी मुलुक भारतबाट लाखौं मूल्यको सयपत्री फूलको माला धरान भित्रिएको छ ।नेपालमा यसपाली सयपत्री फूल कम फूल्ने भएपछि व्यापारीहरुले गत वर्षभन्दा धेरै तयारी माला आयात गरेका छन् ।व्यापारीहरुले कलकत्ताबाट आयात गरेको तयारी माला धरान १३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा राखेका छन् । कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार कार्तिक १ गतेसम्म १ लाख २५ हजार माला कोल्डस्टोरमा भण्डार गरिएको छ । अझै ६० हजार माला भारतबाट आउने प्रक्रियामा रहेको व्यापारीहरुले जानकारी दिएका छन् ।
यो वर्ष नेपालमा फूल फूल्ने समयभन्दा अघि नै तिहार आएकोले स्थानीय उत्पादनको फूल बजारमा कम आउने व्यापारीहरुको भनाई छ । यसले गर्दा विगतको वर्षहरुमा २५ प्रतिशत मात्र माला भारतबाट आयात हुने गरेकोमा यसपाली ७५ प्रतिशत तयारी माला भारतबाट आउने व्यवस्थापक भट्टराईले बताए ।
गत बर्ष १ करोड ६२ लाख फूलको व्यापार भएकोमा यसपाली १ करोड ७५ लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ । फूलव्यापारी टिकाराम श्रेष्ठका अनुसार धनकुटा, तेह्रथुम, पानवारी, ठिंगाबारीलगायत क्षेत्रमा सयपत्रीको कोपिला मात्र भेटिएकोले तयारी माला आयात गरिएको हो । पात्रो हेरेर फूल नरोप्नाले समस्या भएको व्यवसायीहरु बताउँछन् ।

