उदयपुर ।उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा थप ५६ करोड ७२ लाख रुपैयाँ ऋण लगानी गर्न व्यवस्थापन पक्षले सरकारलाई प्रस्ताव गरेको छ । यदि सरकारले थप लगानी गरे उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउने र नाफामा जाने व्यवस्थापन पक्षको दाबी छ ।
नेपाल सरकारले २०४४ साल जेठ ३१ गते उदयपुरको जलजलेमा उदयपुर सिमेन्ट उद्योग स्थापना गरेको थियो । यो उद्योगले अब्बल ग्रेडको गुणस्तरयुक्त गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता यो उद्योगको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा २१ लाख ७२ हजार ४१९ बोरा सिमेन्ट बिक्री गरेको उद्योगले चालू आर्थिक वर्ष २०७९÷८० मा २५ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको छ । ‘उक्त लक्ष्य हासिल गर्न गत आर्थिक वर्षको उत्पादन उपलब्धि ४१ प्रतिशतलाई वृद्धि गर्न र उद्योगको कूल क्षमता ८ सय मेट्रिक टन पु¥याउन उद्योग व्यवस्थापनले प्राविधिक अध्ययन गराएर फेर्नुपर्ने मेसिनहरुको अनुमानित मूल्य सहित नेपाल सरकारलाई ऋण लगानीका लागि अनुरोध गरिसकेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।
‘५६ करोड ७२ लाख रुपैयाँ थप लगानी गर्न सके यो उद्योगको पुनर्निर्माण भई तीन वर्ष भित्रै नेपाल सरकारबाट लिएको ऋणको सावाँ ब्याज फिर्ता गरिसक्छौं’ न्यौपानेले भने ।
उद्योग व्यवस्थापन पक्षको थप लगानी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिससहित अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयमा यो प्रस्ताव विचाराधीन अवस्थामा छ । गत वर्षसम्म उद्योग ३० करोड नोक्सानमा थियो । आर्थिक वर्ष २०७७/७८ मा उद्योग बीईपी (नाफा नोक्सान बराबरी) मा गइसकेको छ । अहिलेको परिस्थितिमा डिजेल, कोइला तथा अन्य कच्चा पदार्थको भाउ अत्यधिक बढेको कारण र कर्मचारीको सेवा सुविधा वृद्धि भएको कारण लागत बढेर फेरि नोक्सानीमा जान सक्ने चिन्ता उद्योग व्यवस्थापनलाई छ ।
यो अवस्थालाई रोक्न उद्योगको ब्रेकडाउन कम गरी उत्पादन वृद्धि गर्न र नयाँ प्रविधि जडान गरी कोइलाको खपत कम गर्न थप लगानी गर्नैपर्ने बाध्यता रहेको उदयपुर सिमेन्ट उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल बताउँछन् । ‘अधिकांश कर्मचारी अबको चार÷पाँच वर्ष भित्र अवकाश हुँदै गर्दा अवकाश हुँदा पाउने अर्बौंको सुविधाको सरकारी दायित्व समेत उद्योगको क्षमता विस्तार भएमात्रै पाइने अवस्था छ, होइन भने अर्थ मन्त्रालय धाउनुपर्ने अवस्था आउनसक्छ’ प्रवक्ता पोखरेल भन्छन् ।
प्रवक्ता पोखरेलका अनुसार उदयपुर सिमेन्ट उद्योगको सन्चित मुनाफा हाल ५६ करोड छ । ‘आर्थिक वर्ष २०७७/७८ मा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अन्तर्गत वित्तीय विवरण तयार गरी सो वर्षसम्मको ५ अर्ब ५० करोड नोक्सानी कट्टा गर्दा रु. ५६ करोड सञ्चित मुनाफा कायम भएको छ’ प्रवक्ता पोखरेलले भने । उत्पादन वृद्धि गरी बिक्री बढाए अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३० करोड नोक्सानी भएकोमा आर्थिक वर्ष २०७८/७९ मा खर्च मित्यव्ययी गरी धेरै वर्षपछि उद्योग नाफामा गएको उद्योगको दाबी छ ।

