धरानका एकजना काँग्रेसी सञ्जय बास्तोला भाइले भने, राप्रपा र अक्टोपसमा फरक छैन । म जीव विज्ञानको विद्यार्थी नभएकोले त्यसबखत केही भन्न सकिन । तर जब मैले अक्टोपस बारे सामान्य जानकारी लिएँ मलाइ ती भाइको कुरा सारै घत लाग्यो । मैले सामान्य जानकारी लिँदा पनि अक्टोपस र राप्रपामा धेरै समानता पाएँ ।
अक्टोपसको अर्थ
अक्टोपस शंखे किराको वर्ग मोलस्का वर्गमा पर्ने एक प्रकारको जलचर जीव रहेछ । शंखे किरा अथवा गँड्याल एक प्रकारको ढाड नभएको जीव हो । मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्रायः सबै जीवलाई साझारुपमा शंखे किरा नामले चिनिन्छ । वयस्क अवस्थामा यिनीहरुको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्छ ।
हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको रहेछ । जीव वैज्ञानिकहरुले अहिलेसम्म तीन सय प्रजातिको अक्टोपस पत्ता लगाएका रहेछन् । जसमध्ये एउटा प्रजाति अत्यन्त खतरनाक रहेछ, जसले मानिसलाई आक्रमण गर्दाे रहेछ । अक्टोपसको आयु बढीमा चार वर्ष हुने रहेछ । विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी प्रशान्त क्षेत्रमा पाइने अक्टोपस हो जसको तौल १५ किलो र खुट्टाको लम्बाई चार मिटरभन्दा बढी हुन्छ । अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न नौ वटा दिमाग रहेको हुन्छ । सबै अक्टोपस मांसाहारी हुन्छन् भने यी जीवहरुले आफूभन्दा ठूला सामुद्रिक जीवको समेत शिकार गर्छन् ।
समानता
अक्टोपसको परिचय खुल्दामात्र पनि राप्रपा र अक्टोपसका लीलामा धेरै समानता पाइन्छ । आफुभन्दा ठूला सामुद्रिक जीवको समेत शिकार गर्ने अक्टोपसको जीवनलीला सम्झँदा राप्रपाले विगतमा काँग्रेस एमालेलाई खेलाएको प्रसंग तरोताजा हुन्छ । बहुदलीय व्यवस्थाको दिव्य बाह्र वर्षमामा मात्र हैन गणतान्त्रिक युगमा पनि राप्रपाले ठूला दलहरुलाइ घुमाइ घुमाइ शिकार गरेको थियो । आजपनि राप्रपा त्यही भूमिकामा छ । आजको परिपर्तनलाई अक्टोपसले मानिसलाई आक्रमण गरे झैं हरदिन गरिरहेको छ । राप्रपाको यो मांसाहारी आक्रमणमा परेर लोकतन्त्रको हुर्मत जाने क्रम छ । हिन्दू धर्म सापेक्ष र राजतन्त्र पुनस्थापनाको ढिँडौरा पिटेर संघीय लोकतान्त्रिक गणतन्त्रको शिकार गर्न उद्धत छ । गत ०७४ कै निर्वाचनमा एमाले गठबन्धनले झापामा राप्रपालाइ वैतर्णी पार नलाएको भए राप्रपाको दुबो पनि संसदमा हुने थिएन ।
ढाड नभएको जीव
सन् १९७० मा गरिएको एक जीव वैज्ञानिक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो । केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन् । वैज्ञानिकहरुका अनुसार अक्टोपसको स्नायु प्रणाली निकै जटिल हुन्छ । ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनमा राख्न सक्छ । जीव वैज्ञानिकहरुका अनुसार अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ । अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि हुन्छ ।
अक्टोपसको यो दोस्रो परिभाषाले त ठ्याक्कै राप्रपालाई अक्टोपस प्रवृत्तिको जुम्ल्याहा अनुभूत गराउँछ । षडयन्त्र गर्न सक्ने मस्तिष्क क्षमता नेपाली राजनीतिमा कसैसँग छ भने त्यो राप्रपा नै हो । मरिसकेको राजतन्त्रको गढे मुर्दे उखाडेर नेपाली राजनीतिलाई अल्मल्याउन सकिरहेकै छ । मूलधारका राजनैतिक दलका विचारगत कमजोरीलाइ भजाएर राप्रपाले हजार भ्रम दिइरहेको छ । हिन्दु धर्म सापेक्षताको मनोवैज्ञानिक मोलतोल गरेर ‘मुँगेरीलालको हसिन सपना’ देखाउन भ्याएकै छ ।
सूचना प्रविधिको दू्रत विकास भएको यो समयमा त राप्रपाको मलामी जान उद्धत समुदाय देखिन्छन् भने हिजोको परिकल्पना त गर्नै सकिन्न । आजको शताब्दीमा पनि राप्रपाको गढे मुर्दे विचारसँग सती जानुलाई यहाँ बिडम्बना नै मान्नु पर्छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।