‘चेतनाको तरङ्ग’ मुक्तकसङ्ग्रह लोकार्पण

विराटनगर । मुक्तककार मञ्जु घिमिरे दाहालको मुक्तकसङ्ग्रह ‘चेतनाको तरङ्ग’ सोमबार लोकार्पण गरिएको छ । विराटनगर ४ स्थित खेटाङ सेवा समाजको भवनमा आयोजित कार्यक्रममा साहित्यकार विवश पोखरेललगायत साहित्य क्षेत्रका प्रवुद्ध व्यक्तिहरुले सामुहिक रुपमा किर्ति लोकार्पण गरेका हुन् ।

कवि तथा मुक्तककार दाहालले साहित्य क्षेत्रमा दोश्रो कृतिको रुपमा मुक्तकसङ्ग्रह प्रकाशनमा ल्याएकी हुन् । सङ्ग्रहमा १५६ वटा मुक्तकहरु सङ्ग्रहित छन् । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले प्रकाशन गरेको मुक्तक सङ्ग्रह प्रतिष्ठानका सभापति बाबुराम पोखरेलको अध्यक्षतामा बिमोचन गरिएको थियो ।

साहित्यमा कविता विधा अन्तरगत पर्ने मुक्तक सङ्ग्रह अघि दाहालले मेरो प्रतीक नामक कविता सङ्ग्रह प्रकाशन गरेकी थिइन् ।कृति बिमोचन कार्यक्रममा बोल्दै साहित्यकार विवश पोखरेलले दाहालको दोश्रो कृति परिस्कृत भएर आएको भन्दै प्रसंशा गरे । निरन्तरको लगाव र परिश्रमले मुक्तकसङ्ग्रह सबैलाई सन्तुष्ट पार्ने गरी आएको भन्दै साहित्य क्षेत्रमा दाहालको भविष्य उज्जल रहेको बताए । उनले कृति प्रकाशनमा साहित्यकारहरुले हतार गर्न नहुने सुझाव सदैव रहने गरेको भन्दै पहिलो कृति प्रकाशन गरेको तीन वर्षपछि प्रकाशित अर्को कृति निकै राम्रो र सन्तोषजनक भएको उनको टिप्पणी थियो ।

कृतिमाथि समीक्षा गर्दै साहित्यका हरि कट्टेलले दाहालको मुक्तकसङ्ग्रहले समाज, समाजमा भएका विकृति विसंगति, परिवर्तन, मायाप्रेम र विद्रोह आदि क्षेत्रलाई सशक्त रुपमा प्रस्तुत गरेको बताए । उनले केही मुक्तकहरु यसको नियममा आधारित नभएपनि धेरै मुक्तकहरु मुक्तकको नियम अनुसार सशक्त रुपमा उपस्थित रहेको बताए ।

कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, साहित्यकार गंगा सुवेदी, विनोद घिमिरे विवश, लक्ष्मी स्मृति, रिता पाठकलगायत थुप्रै कवि तथा साहित्यकारहरुले प्रकाशित सङ्ग्रहबाट मुक्तक वाचन गरी शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा लेखकतथा मुक्तककारको तर्फबाट प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

मङ्गलबार, ११ असोज, २०७९, बिहानको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर