विराटनगर । मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।
यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनु पर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।
यस्तै भदौ महिनामा राजस्व कार्यालयको लक्ष्य ४ अर्ब ७६ करोड ८५ लाख २९ हजार रहेको छ । साउन महिनाको अवस्था नै कायम रहे यो वर्ष पनि भन्सार कार्यालयले राजस्वको लक्ष्य भेट्टाउन नसक्ने देखिएको छ ।
विगत ११ वर्षमा विराटनगर भन्सार कार्यालयले ६ आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष ०६८/०६९ देखि आर्थिक वर्ष ०७०/०७१ सम्म निरन्तर लक्ष्य अनुसारको प्रगति गरेको भन्सार कार्यालयले आर्थिक वर्ष ७१÷७२ मा भने प्रगति लक्ष्यको ९६ दशमलव ३३ प्रतिशत मात्रै राजस्व उठाउन सकेको थियो ।
यस्तै त्यसपछिको तीन आर्थिक वर्षमा पुनः लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल देखिएको विराटनगर भन्सार कार्यालय आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म भने लक्ष्य भेट्टाउन सकेको छैन । कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६/०७७ मा लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल विराटनगर भन्सार कार्यालयले गत वर्ष पनि लक्ष्यको ८१ दशमलव ४१ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको थियो ।
भन्सार कार्यालयले लक्ष्य अनुसार प्रगति गर्न नसकेको भएपनि राजस्व संकलनमा भने विगत ११ वर्षमा उल्लेख्य सुधार गरेको छ । ११ वर्ष अगाडि ११ अर्ब ७ करोड ५० लाख ९१ हजार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा ३ दशमलव ६५ गुणाले राजस्वमा वृद्धि भई ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ ।
१७ अर्ब ९५ करोड राजस्व संकलन भएको आर्थिक वर्ष ०७१/०७२ को तुलनामा आर्थिक वर्ष ०७२/०७३ मा उल्लेख्य वृद्धि भई २४ अर्ब ७९ करोड ६९ लाख ६५ हजार पुगेको थियो । कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६/०७७ मा लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत मात्रै राजस्व संकलन भएको बाहेक अन्य वर्षमा राजस्व संकलन भने अघिल्ला वर्षका तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
यसैबीच चालू आर्थिक वर्षको साउन र भदौ महिनामा विराटनगर भन्सार कार्यालयबाट निर्यातको तुलनामा आयात ४ गुणा बढी देखिएको छ ।
साउन महिनामा विराटनगर भन्सार कार्यालयबाट १६ अर्ब ३५ करोड ४४ लाख १३ हजारको वस्तु आयात हुँदा निर्यात भने ४ अर्ब ८० करोड १२ लाख ३८ हजार मात्रैको भएको छ ।
यस्तै भदौ महिनामा १७ अर्ब ५७ करोड ६० लाख ६९ हजारको वस्तु आयात हुँदा निर्यात भने ४ अर्ब ७ करोड ५१ लाख ९५ हजार रुपैयाँको मात्रै भएको तथ्यांक छ ।