संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका– ९ स्थित उत्तर दक्षिण कोशी राजमार्गको वन क्षेत्रमा फोहोर फ्याँके पाँच हजार रुपैयाँ जरिवाना गरिने भएको छ । ढुंगेधारा र तुम्लिङटार बीच सालघारी वन क्षेत्रमा फोहोर फ्याँके पाँच हजार रुपैयाँ जरिवाना गरिने डिभिजन वन कार्यालय संखुवासभाले जनाएको छ ।
पछिल्लो समय मानिसले खाँदबारी—तुम्लिङटार सडकखण्ड छेउमा फोहोर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण सूचना बोर्ड राखिएको छ । डिभिजन वन कार्यालय र मनकामना सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा बोर्ड टाँसेर सूचना जारी गरेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रलाल राईले बताए ।
खाँदबारी बजारलगायतका मानिसले लुकिछिपी रातको समयमा ट्याक्टर र गाडीमा फोहोर ल्याएर सडकछेउमा फ्याँक्ने गरेको स्थानीय भनाइ छ । राजमार्ग आसपासको फोहोर फ्याँक्ने क्षेत्रमा सार्वजनिक सूचना नै टाँस गरेर सचेत गराइएको हो । बन क्षेत्रमा कसैले अटेर गरेर फोहोर फ्याँकेमा वन र वातावरणसम्बन्धी ऐन–नियमअनुसार कारबाही गरिने डिभिजन वन कार्यालय संखुवासभाले जनाएको छ ।