विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको प्रक्रिया निर्वाचन आयोगले (आइतवार)आजदेखि सुरु गरेको छ ।
जसका लागि प्रदेश र प्रतिनिधि सभाको ५ वर्षे कार्यकाल गएरातिदेखि सकिएको छ । आजदेखि राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ ।
आगामी निर्वाचनको लागि दलहरूले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् ।
दलहरूले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ ।
त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ ।
बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि शुरू हुने छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको आयोगले जनाएको छ ।

