विराटनगर । आठौँ संविधानदिवस प्रदेश १ सरकारले प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावलीलगायतका कार्यक्रम गरी मनाउने भएको छ ।
बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको हो ।
असोज २ गते प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाएर कार्यालय परिसरको सरसफाइ गर्ने तथा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ । यस्तै ३ गते विराटनगरको रानीदेखि बरगाछिसम्मको क्षेत्रमा रहेको सडकको बिच भागमा वृहत् वृक्षारोपण कार्यक्रमको गरिने भएको छ ।
सो दिन प्रदेशवासी नागरिकलाई आ–आफ्नो घर टोल र महत्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न आव्हान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव गणेश नायकले जानकारी दिए । ४ गते दीपावली गरेर दिवस मनाइनेछ ।
२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ । विभिन्न प्रभातफेरि तथा गोष्ठीमा सीमित हुने दिवसलाई यो वर्ष फरक ढङ्गले वृक्षारोपण गरी मनाइने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउटका प्रतिनिधि तथा हामी स्वयंसेवी अभियानका विद्यार्थीहरूको सहभागिता रहने मन्त्रालयले बताएको छ ।

