विराटनगर । विराटनगर भन्सारबाट जाँच पास भएर निस्किएको करिब २१ लाखको सामान बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले आज दिउँसो विराटनगरको रोड शेष चौकबाट गिजर खाद्य पूरक सामाग्री बोकेको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीले बी.आर. ३८ ई ७४२५ नम्बरको भारतीय ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको सामाग्रीहरू नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको सामाग्रीहरू भन्सारका कर्मचारी र एजेन्टको मिलेमतोमा कम मुल्याकन गरी सामान आयत गरेको आशंकामा नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको सामानसहित ट्याक्टर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउन तयारी गरेको छ ।

मोरङ प्रहरीले पछिल्लो समय विराटनगर भन्सारबाट जाँच पास भएर निस्किएको सामाग्रीहरू राजस्व छली गरेको आशंकामा नियन्त्रणमा लिँदै राजस्व बुझाउने गरेका छन् । राजस्वमा बुझाएका पछिल्लो सामाग्रीहरू आयतमा राजस्व छली भएको पुष्टि पनि भएको छ ।

प्रहरीले गत मंगलबार नियन्त्रणमा लिएको ३३ लाखको सामानमा राजस्व छली भएको पुष्टि भएको थियो ।

प्रहरीले विराटनगरबाट राजस्व छली भएको आशंकामा ३३ लाखको मोटर्सको पार्टपुर्जासहितको भारतीय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । राजस्व अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट भन्सारले जाँच पास गरेर छोडेको सामानमा सन्दर्भ मूल्य भन्दा कम राजस्व दाखिला गरी एजेन्टमार्फत भन्सार कर्मचारीको मिलेमतोमा राजस्व छली भएको पुष्टि भएको थियो ।

विराटनगरका ८ वटा फर्मले आयत गरेको उक्त सामानमा सन्र्दभ मूल्य भन्दा कम मुल्याकन गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले जानकारी दिए ।