संखुवासभा । राजनैतिक भागबण्डामा गठन गरिएको साना शहरी खानेपानी उपभोक्ता समिति अहिले ऋणमा चुुर्लुम्म डुुबेको छ । संखुवासभाको सदरमुकाम खाँदबारीमा सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समितिलार्य २४ करोड रुपैयाँ ऋण लागेको छ । सदरमुकाम खाँदबारीका लागि सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समिति त्यसरी ऋणमा डुबेको हो ।
तत्कालीन समयमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भागवण्डामा उपभोक्ता समिति गठन गरेका थिए । उक्त समितिका बसेका व्यक्तिहरुकै कारण खानेपानी उपभोक्ता समितिलाई ऋणको भारी बोकाएका हुन् । त्यतिमात्र होइन खानेपानी आयोजना सम्पन्न नहुँदा अलपत्र छ ।
पाँच वर्ष अगाडि मांसिमा खानेपानी निर्माणको लागि भन्दै लिएको २२ करोड ऋणमा ३ करोड तिरेर पनि ब्याज सहित अझै २४ करोड ऋण बाँकी रहेको छ । यता ४५ करोड १ लाख ५५ हजार रुपैयाँमा निर्माण गरिएको वृहत खाँदबारी खानेपानी निर्माण कम्पनीले हस्तान्तरण गरेको वर्षदिन नपुग्दैदेखि मांसिरमा खानेपानी पूर्ण रुपमा बन्द छ । पानी अभावका कारण खाँदबारी बजारबासीले अहिले पनि सास्ती खेपिरहेका छन् । खाँदबारी साना शहरी खानेपानी उपभोक्ता समिति नगर विकास कोषको ऋणमा चुुर्लुम्म डुुबेको हो । नगर विकास कोषसँग समितिले लिएको २२ करोड रुपैयाँ साँवा र सोको ब्याज गरि करिब २४ करोड रकम तिर्न बाँकी छ । हाल सेकाहको महाभीर, छभैया र भ्याङ्खोला मुहानबाट पानी आपूर्ति गरिरहेको छ । धारामा आएको खानेपानी पिउनयोग्य समेत छैन ।
लेदोसहितको धमिलो पानी आउने, उक्त पानीले चिलाउने र पानी पनि नियमित नआउने जस्ता समस्याहरु रहेको स्थानीयले बताएका छन् । आयोजनासँग हाल खाँदबारीका २ हजार ९६१ उपभोक्ता रहेका छन् ।
५ बर्ष अगाडि मांसिमा खानेपानीको लागि लिएको ऋणको जमानी खाँदबारी नगरपालिका र तत्कालीन जिल्ला विकास समिति साक्षी बसेको खाँदबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार मेवाहाङले बताए । खोनपानीको ऋण तिर्नको लागि प्रमुख श्रोत नै उपभोक्ताले उठाएको शुल्क हो । तर उपभोक्ताहरु घट्दै गएको र उठेका रकमबाट कर्मचारीको तलबमा नै खर्च हुने भएकोले १५ वर्षका लागि लिएको ऋण तोकिएको समयमा तिर्न नसक्ने देखिन्छ । मांसिमा खानेपानी निर्माणताका सरकार र उपभोक्ताबाट ५०÷५० प्रतिशत बजेट व्यवस्थापन गर्ने नीतिका कारण धेरै ऋणमा परेको अध्यक्ष मेवाहाङले बताए । साना सहरी खानेपानी आयोजना दोस्रा हुँदा सरकारले लगानीमा यो प्रावधान ल्याएपछि समस्या भएको हो । साना सहरी खानेपानी आयोजना पहिलो र तेस्रोमा ३०/७० मा चलेको थियो यो चाँही दोस्रो भएकोले ऋणको बोझ धेरै भएको समितिले जनाएको छ ।
२०७० सालमा निर्माण सुरु भएको वृहत मांसिमा खानेपानी आयोजना निर्माण कम्पनीले २०७७ जेठमा हस्तान्तरण गर्यो । कूल लागत ४५ करोड १ लाख ५५ हजार रुपैयाँमा निर्माण गरिएको वृहत खाँदबारी खानेपानी हस्तान्तरण भएदेखि नै बन्द छ । पाइपलाइन पूर्ण रूपमा काम नलाग्ने भएपछि मर्मत अभावमा बन्द भएको हो । खाँदबारीदेखि ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसिमाबाट खाँदबारी मकालु सडकखण्डबाटै पाइपलाइन ल्याउँदा पाइमा व्यापक क्षति पुगेको छ । मांसिमा ल्याउने भनेर उपभोक्तालाई झुक्याएको स्थानीयको आरोप छ । आयोजनाको कूललागतको ५ प्रतिशत रकम सहभागीतावापत मुख्य पाइप लाइनदेखि धारा जडान गर्दा दूरीका हिसाबले प्रतिघर ५ हजार देखि २५ हजार रुपंैयाँसम्म तिरेका थिए ।

