विराटनगर । विराटनगरमा विगत २६ वर्षदेखि लाग्दै आएको व्यापारिक मेला यो वर्ष कसले गर्ने भन्ने विषयमा विवाद देखिएको छ ।विराटनगरका उद्योगीहरुको पुरानो संगठन उद्योग संगठन र मोरङ व्यापार संघले आलोपालो मेला लगाउँदै आएको भएपनि यो पटक अर्को उद्योगीको संगठन नेपाल उद्योग परिसंघ प्रदेश १ समितिले पनि थपिएपछि विवाद सुरु भएको हो । मोरङ व्यापार संघले अघिल्लो वर्ष मेला लगाइसकेको छ । यो वर्ष उद्योग संगठनले मेला लगाउने पालो थियो । सोही अनुसार आउँदो माघ २६ गतेदेखि फागुन ३ गतेसम्मका लागि विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी) आयोजना गर्ने तयारी गरिरहेको छ ।

यता, उद्योग परिसंघ प्रदेश १ ले पनि माघ महिनाको १९ गतेदेखि २८ गतेसम्म विराटनगरमा अन्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सिआइएन एक्स्पो २०२३ आयोजना गर्ने जनाएको छ । दुवै मेलाको तयारीका लागि दुवै संगठनहरुले तयारी गरिरहेका छन् ।

तर, एउटै मितिमा एउटै ठाउँमा मेला लगाइँदा हुनसक्ने परिणामको विषयमा भने दुवै संगठन चिन्तित देखिएका छैनन् । यसअघिका मेला समय नजुधाई सहमतिमै हुने गरेका थिए । तर, यस पटक विवाद मिलाउन दुवै संगठन लचक भएका छैनन् ।

‘हामी कुनै पनि हालतमा यही मितिमा मेला सम्पन्न गर्छौं,’ उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले उहाँहरुको भन्दा धेरै अगाडि निर्णय गरेर तयारी गरिरहेका छौं, पर्यटन बोर्डबाट स्वीकृति लिएका छौं, जिल्ला प्रशासनबाट पनि स्वीकृति लिएका छौं ।’ घिमिरेले दुवै संगठनले संयुक्त रुपमा मेला आयोजना गर्ने विषयमा पनि आफ्नो असहमति रहेको बताए । ‘उहाँहरुले मिति सारे भयो नि, हामी संयुक्त रुपमा मेला आयोजना गर्न सक्दैनौं,’ घिमिरेले भने ।

यता उद्योग संगठन मोरङले पनि कुनै पनि हालतमा मेलाको मिति परिवर्तन हुन नसक्ने बताएको छ । ‘उद्योग संगठन भनेको विराटनगरको इतिहास बोकेको औद्योगिक संगठन हो,’ उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुँडामणि भट्टराईले भने, ‘कुन नयाँ संगठन आउँछ मेला लगाउने भन्ला यो पटक रोकौंला, फेरि अर्को वर्ष अर्को आउला फेरि रोक्न त सकिँदैन, यो इतिहास बोकेको संगठन हो, यसले गर्ने नियमित गतिविधि आफ्नो हिसावले गर्छ ।’

उद्योग संगठनको कार्यसमितिको समयावधि पनि २ वर्षको हुन्छ । आफ्नो कार्यकाल समाप्त हुनुअघि एउटा गतिलो कार्यक्रम गरेर विदा हुने परम्परा अनुसार उद्योग संगठनले मेला लगाउँदै आएको छ । अहिलेको उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलको कार्यकाल पनि वैशाखमा सकिँदैछ । उनले आफ्नो कार्यकाल सकिनु अघि भव्य मेला आयोजना गर्ने लक्ष्य राखेका छन् । सोही अनुसार तयारी भइरहेको उद्योग संगठनको भनाइ छ ।

उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरे उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष हुन् । उनले आफ्नो परामर्श बेगर उद्योग संगठनले मेला आयोजना गरेको बताए । ‘मेरो कार्यकालमा त मैले निवर्तमान अध्यक्षलाई राखेरै कार्यक्रम फाइनल गर्थें,’ घिमिरेले भने, ‘यो मेलाको विषयमा त मलाई उद्योग संगठनले निर्णय गर्ने बेलामा कुनै छलफल नै गरेन ।’

यता, उद्योग संगठनका पदाधिकारी घिमिरेको विरुद्धमा खुलेर नलागे पनि इतिहास बोकेको संगठनलाई कमजोर पार्ने गरी पूर्व अध्यक्षले नै भूमिका खेल्न खोजेको बताउँछन् । ‘निवर्तमान अध्यक्षज्यूले यो संस्थाको गरिमालाई कमजोर पार्ने कुरा गर्दैहुनुहुन्छ,’ उद्योग संगठनका एक अधिकारीले भने, ‘उहाँहरुको १÷२ वर्षअगाडि आएको संस्था हो, नयाँ वर्षको सन्दर्भ पारेर मेला आयोजना गरे भयो नि ।’ उनले वैशाखमा आफ्नो संस्थाको साधारणसभा हुने भएकोले मेलाको मिति माघ भन्दा पर धकेल्न नसकिने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने दुवै संगठनको विवाद मिलाउन आफूले भूमिका खेल्ने बताए । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले पनि मिलाउने प्रयास आफ्नो हुने बताए । ‘समय छ मिलाएर गर्नुपर्छ, विवाद गर्नु हुँदैन,’ सारडाले भने ।
विराटनगर पछिल्लो समय अन्य सहरको तुलनामा कमजोर हुँदैछ । राजनीतिक नेताको पहलकदमी कमजोर बनेको होस् या उद्योगी व्यवसायीको पहल नपुगेको होस् विराटनगर अन्य सहरको तुलनामा खस्कीरहेको छ । यही बेला एकताबद्ध भएर यहाँका औद्योगिक समस्याको समाधानका लागि सरकारलाई दबाब दिनुपर्ने बेलामा उद्योगीहरु आफैं विवादित हुनु नराम्रो भएको कतिपय बताउँछन् ।

दुवै संगठनको प्रदर्शनी अन्तराष्ट्रिय हुने दाबी

उद्योग संगठन मोरङले विगत वर्षमा जस्तै यसवर्ष २०७९ माघ २६ गते देखि फागुन ०३ गतेसम्म विराटनगरमा विराट एक्स्पो–२०७९ (कृषि तथा औद्योगिक अन्र्तर्राष्ट्रिय प्रदर्शनी) भव्य हुने बताएको छ ।

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ आयोजना गर्न लागेको विराट एक्स्पोले औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायीक उत्पादन, पर्यटन क्षेत्रको विकास, उत्पादक र उपभोक्ता वीचको सम्वन्ध विस्तार, उत्पादकहरु वीच स्वस्थ्य प्रतिस्पर्धा, सम्भावित वजार र प्रविधिको पहिचान, लगानीमैत्री वातावरण निर्माणमा सहयोग पु¥याउने विश्वास छ ।
बिराट एक्स्पोको सातौं संस्करणलाई पृथक वनाउन यसपटक क्षेत्रगत सेमिनार, दैनिक पर्यटकीय गन्तव्य प्याकेज, विजनेस टु बिजनेस बैठक, स्थानीय फुड फेस्टिवल र विभिन्न जातजातिको वेशभुषालाई समावेश गरी सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको सो संगठनले जनाएको छ । मुलुकभरीको औद्योगिक उत्पादनहरुका साथै सार्क राष्ट्रका प्रदर्शनकर्ताको समेत मेलामा सहभागिता रहने विराट एक्स्पोले आर्थिक एवं औद्योगिक प्रवद्र्धनमा सहयोग पु¥याउने दाबी गरिएको छ ।

मेलामा २० भन्दा वढी क्षेत्रका तीनसय भन्दा वढी स्टल रहनुका साथै झापा, मोरङ, सुनसरी लगायत भारतको सिमावर्ती क्षेत्रका करिव ३ लाख दर्शकले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

उद्योग संगठनले विराटनगरको इतिहासमा पहिलो पटक २०५३ सालदेखि कोशी महोत्सव लगाएको थियो । उक्त महोत्सवमा तत्कालिन राता वीरेन्द्र शाह पनि सहभागी भएको उद्योग संगठनको दाबी छ । त्यसपछि २०५७ मा पूर्वाञ्चल व्यापार मेला, २०६२ मा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी आयोजना गरिएको थियो । त्यसयता संगठनले आफ्नो पालोमा २०६६, २०७३ र २०७६ मा समेत विराट एक्स्पो आयोजना गर्दै आएको छ । उद्योग संगठन मोरङ २०२४ सालमा जुद्धबहादुर श्रेष्ठले स्थापना गरेका हुन् ।

उद्योग परिसंघले पनि मेला अन्तराष्ट्रियस्तरको गर्ने

यता, नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा गर्ने मेला अन्तराष्ट्रियस्तरको हुने दाबी गरेको छ । मेलाबाट प्रदेश १ सहित मुलुकका विभिन्न स्थान तथा विदेशमा उत्पादन हुने कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्र्रदर्शनी र विक्री हुने बताइएको छ ।

स्वदेशी तथा विदेशी मुलुकहरु भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत अन्य मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको आयोजकको भनाइ छ । माघ १९ गतेदेखि २८ गते सम्म हुने मेलामा आधुनिक ४ वटा डोम रहने र त्यसमा ३५० स्टल रहने बताइएको छ ।