लोड हुँदैछ...

मेनु

आयातका लागि नेपाली चिया परीक्षण गर्दै चीन

आयातका लागि नेपाली चिया परीक्षण गर्दै चीन

विराटनगर । गुणस्तर कायम गरे ठूलो परिमाणमा नेपाली चिया आयात गर्ने वचन दिएको उत्तरी छिमेकी चीनले त्यसको कार्यान्वयन थाल्ने तयारी सुरु गरेको छ ।

चीनले पहिलोपटक नेपालमा उत्पादन भएका ‘ब्ल्याक टी’ का धेरै वटा नमूना माग गरेर अहिले गुणस्तर परीक्षण थालेको छ । राष्ट्रिय चिया तथा कफी बोर्डका अनुसार चीनले बेइजिङस्थित नेपाली दूतावासमार्फत ‘ब्ल्याक टी’ को नमूना मागे गरेपछि नेपाली पक्षले पठाएको छ ।

यसले भारतमा मात्रै निर्भर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार अब चीनतिर पनि निश्चित हुने यसअघिको नेपाली आशा व्यवहारमा अनुवाद हुन लागेको सरोकारवालाको बुझाइ छ । नेपाली चिया क्षेत्र पछिल्लो समय आयातमै कर लगाउने भारतीय तयारीले आतंकित छ । डेढ महिना अघि चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्कालाई चिनियाँ पक्षले नेपालको चिया आयात गर्ने वचन दिएको थियो ।

चिनियाँ पक्षको त्यो वचनले नेपाली चिया क्षेत्रमा उत्साह सञ्चार गरेको थियो । अहिले नमूना मागेर चीनले परीक्षण थालेपछि चिया चीन निर्यात गर्ने नेपाली सपना कार्यान्वयनको नजिकै पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको भनाइ छ ।

अहिलेसम्म नेपालमा उत्पादित चियाको ठूलो हिस्सा भारतीय बजारमा मात्रै पुग्दै आएको थियो । ज्यादै थोरै परिमाणको चिया मात्रै तेस्रो देश जाने गरेको छ । ‘बेइजिङस्थित नेपाली दूतावासमा चिनियाँ पक्षले पत्राचार गरेर पहिलोपटक ‘ब्ल्याक टी’ को ‘स्याम्पल’ माग गरेको छ’, चिया तथा कफी विकास बोर्डका निर्देशक एवम् प्रवक्ता डा. दीपक खनालले भने ‘तीन दिन भयो हामीले ब्ल्याक टी का १६ वटा स्याम्पलहरु चीन पठाएका छौं । सायद अब उनीहरुले त्यसको परीक्षण गर्लान् । हामी ढु्क्क छौं, हाम्रो चिया उनीहरुको नजरमा योग्य ठहरिनेछ ।’

निर्देशक खनालका अनुसार चीनको सरकारी तहबाटै यसरी नेपाली चियाको नमूना माग भएपछि उनीहरु नेपाली चिया आयातका लागि चासोसाथ लागिपरेको बुझिन्छ । ‘चीनले हाम्रो चियाको गुणस्तर मापन गर्न खोज्नुको मुख्य कारण आयातकै लागि हो भन्ने हाम्रो बुझाई छ’, खनालले भने ‘त्यही भएर हामीले नेपालमा उपलब्ध उत्कृष्ठ १६ वटा नमूना पठाएका हौं ।’

चिनियाँ पक्षले स्याम्पल माग गरेपछि चिया तथा कफी विकास बोर्डले चिया उत्पादकहरुसँग नमूना संकलन गरेको थियो । बोर्डमै गुणस्तर जाँच गरेपछि छानेर १६ वटा नमूना चीन पठाएको बोर्डको भनाइ छ । ‘हामीले नमूना पठाउन आह्वान गरेपछि ४३ वटा स्म्याम्पल कलेक्सन भएका थिए’ निर्देशक खनालले भने ‘त्यसमध्येबाट छानेर १६ वटा पठाएका हौं । हामी आशावादी छौं हाम्रो चियाले चीनका प्रयोगकर्ताहरुको मन जित्नेछ ।’

चीन पठाइएको ब्ल्याक टीको नमूनामा धेरैजसो अर्थोडक्स चिया छ भने थोरै सिटिसी र केही ह्वाइट टीको पनि नमूना छ । परराष्ट्र मन्त्री खड्काको चीन भ्रमणका बेला बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै चिनियाँ पक्षले नेपाली चिया आयात बढाउने बताएको जानकारी दिएको थियो । चीनका परराष्ट्रमन्त्री वाङ यी ले नेपाली चिया र जडिबुटी आयात बढाउने बताएका थिए । चीनले नेपाली चियामा चासो दिएको घटनालाई चिया उद्योगी, किसान, व्यापारी सबैले ऐतिहासिक उपलब्धि भनेका थिए ।

नेपालका चिया उद्योगी र चिया क्षेत्रमै लामो समय काम गरिरहेका विज्ञहरुका अनुसार चिनियाँ बजार नेपाली चियाका लागि ज्यादै ठूलो बजार त हो नै, भारतको दाँजोमा राम्रो मूल्य पाइने बजार पनि हो ।

‘भारतीय सरकारबाट त नेपाली चिया क्षेत्रलाई खासै समस्या छैन,’ चिया तथा कफी विकस बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भने, ‘तर, त्यहाँको बजारले नेपाली चियाको बाध्यतालाई उपयोग गरेर अनेक बाधा गर्ने गरेको छ । चीनको बजार उपलब्ध हुने कुरा हाम्रा लागि खुसीको कुरा हो। भारतमा भन्दा चीनमा हाम्रो चिया धेरै उच्च मूल्यमा पनि बिक्री हुनेछ ।’

अहिले नेपालका २८ जिल्लाको १६ हजार ९ सय २० हेक्टर जमिनमा चिया उत्पादन भइरहेको छ । नेपालमा वार्षिक सरदर १ करोड ५६ लाख ४१ हजार केजी सिटिसी चिया उत्पादन हुँदै आएको छ भने अर्थोडक्स चिया ७१ लाख ६८ हजार २ सय ५५ केजी उत्पादन हुन्छ। ग्रिन टी ७ लाख ७२ हजार ४ सय ५५ केजी उत्पादन हुँदा अन्य चिया १ लाख ५१ हजार ९१ केजी उत्पादन हुँदै आएको छ ।

अहिले पठाएको नमूनामा चिनियाँ पक्षले चित्त बुझाए नेपालमा चिया खेती सुरू भएको १५९ वर्षपछि पहिलोपटक चीनमा नेपाली चियाको व्यापार सुरू हुनेछ। त्यसो त नेपालमा चिया खेतीको सुरूआतदेखि नै चीन जोडिएको थियो । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनियाँ सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए । चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना भएको थियो । त्यही दशकमा भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ भएको थियो ।

२००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि प¥यो । फलस्वरूप २०१६ सालमा झापा जिल्लाको रड्गिया डाँडामा बुधकरण चिया बगानको नाममा निजीस्तरको पहिलो चिया बगान स्थापना भएको थियो । सरकारी स्तरमा पनि २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । सुरूआती दिनमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो । २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना भएको थियो ।

२०३९ सालमा तत्कालीन सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गरेको थियो । व्यावसायिक रूपमा चिया उत्पादन हुन थालेपछि नेपालबाट तयारी चिया भारत निर्यात हुन थालेको थियो ।

हालसम्म भारतीय बजार नै नेपाली चियाको ८० देखि ९० प्रतिशत हिस्सा ओगट्ने बजार बनेको छ । यद्यपि भारतीय बजारले समय–समयमा नेपाली चियामाथि अनेक अवरोध खडा गर्दै आएको छ । पछिल्लो समयमा नेपाली चिया आयातलाई मात्रात्मक प्रतिबन्ध लगाउने गरी भारतीय संसद्का दुवै सदनमा प्रस्ताव पुगेपछि मुख्य अन्तर्राष्ट्रिय बजार गुम्ने जोखिम बढेको थियो । यहीबेला चीनतिर बजारको विकल्प खुला भएपछि नेपालको मुख्य नगदेबाली बजार अभावको पीडाबाट उम्किने आशा चिया क्षेत्रलाई छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।