लोड हुँदैछ...

मेनु

प्रदेशमा दोहोरिन मुख्यमन्त्रीहरुको अनिच्छा

प्रदेशमा दोहोरिन मुख्यमन्त्रीहरुको अनिच्छा

विराटनगर । संघीयता कार्यान्वयन भएर प्रदेश स्थापना भएपछि प्रदेश १ मा तीन जना नेता मुख्यमन्त्री बने । सुरुमा भोजपुरका शेरधन राई र त्यसपछि सुनसरीका भीम आचार्य मुख्यमन्त्री बनेको प्रदेशमा हाल भोजपुरकै राजेन्द्र राई त्यो आसनमा छन् ।

प्रदेशसभाको पहिलो कार्यकालमै प्रदेशको कार्यकारी प्रमुख हुने अवसर पाएका यी तीनै जना नेता आउँदो चुनावमा भने प्रदेशमा उठ्नै अनिच्छा देखाएर प्रतिनिधिसभा ताकिरहेका छन् ।

मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका तीनै जना नेताको नजर संघीय निर्वाचन हुनु पछिको मुख्य कारण के हो ? कसैले पनि यसबारे खुलेर बताएका छैनन् । तर, राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्रसम्मले प्रदेशलाई ‘हेपेको’ अनुभूति सम्हालेका उनीहरु फेरि दोहोरिन अनिच्छा देखाइरहेका छन् । प्रदेशलाई संघले अधिकार नदिएका कारण मात्रै उनीहरु अनिच्छुक देखिएका हुन् कि आफूले केही गर्न नसकेका कारण पनि उनीहरु यो अवस्थामा पुगेका हुन् ? हम्मेसी सत्य कुरा बोल्न इन्कार गर्ने नेताहरुले यसबारे भने अहिलेसम्म मुख खोलेका छैनन् ।
प्रदेशमा फेरि दोहोरिएर आउने इच्छा नराखेका तीनै जना नेताले संघीय निर्वाचन लड्ने अवसर पाउलान् ? शेरधन राईले यो अवसर पाउने सम्भावना बलियो भए पनि आचार्य र राजेन्द्र राईको सम्भावना निश्चित छैन । यद्यपि उनीहरु तीनै जना सकेसम्म संघीय निर्वाचन लड्ने जमर्कोमा छन् ।

प्रदेशको हर्ताकर्ता पद मानिने मुख्यमन्त्री नै भइसकेका नेताहरु प्रदेशमा फेरि किन दोहोरिन चाहँदैनन् ? यसको उत्तर उनीहरुले नै बारम्बार सार्वजनिक रुपमा दिँदै आएका छन् । जसमा उनीहरुले भन्ने कुरा लगभग समान देखिन्छ, प्रदेशलाई अधिकारविहीन पारिएको, केन्द्रले बजेटदेखि सबै कुरा आफैसँग राखेको जस्ता गुनासो गर्ने उनीहरु केन्द्रसँग रुष्ट देखिन्छन् । तर, आफूले प्रदेशको अधिकार स्थापित गर्न के के गरेँ भन्ने चाहिँ उनीहरु खुलेर बताउन सक्दैनन् ।

‘केन्द्रमा रहेकाहरु प्रदेशलाई आफ्नो साधारण इकाई जस्तो व्यवहार गर्छन्’, मुख्यमन्त्री राजेन्द्र राईले बारम्बार सार्वजनिक रुपमै भन्दै आएका छन् ‘बजेट कुम्ल्याएर राख्ने काम संघले गरेको छ । हाम्रो सिंगो प्रदेश सरकारको बजेटभन्दा धेरै बजेट संघको एउटै मन्त्रालयले चलाउँछ । यसले संघ प्रदेशप्रति कति अनुदार छ भन्ने देखाउँछ ।’ यद्यपि मुख्यमन्त्री राई प्रदेश स्थापना भएपछि विकासका अवसरहरुको दामासाहीकरण भएको र त्यसले सकारात्मक परिणाम दिएको चाहिँ बताउन भुल्दैनन् ।

‘पहिले–पहिले दशौं वर्षमा जिल्लामा एउटा विकास योजना पर्दा खुसीले उफ्रनु पर्ने अवस्था थियो’ राईले भन्ने गरेका छन् ‘तर, संघीयता कार्यान्वयनमा भएपछि प्रदेशबाट धेरै योजनाहरु जिल्ला–जिल्लामा पुगेका छन् । यो ठूलो उपलब्धिको कुरा हो ।’ प्रदेश स्थापनाले भएको उपलब्धि राम्रो रहेको बताउने उनी स्वयम् चाहिँ किन प्रदेशमा दोहोरिने ‘मुड’ मा छैनन् त ?

राईले यसबारेको खास कारण खोलेका छैनन् । अब आफू संघमा जान चाहेको मात्रै बताइरहेका छन् । तर, प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने कुरा भने उनका लागि चुनौतीपूर्ण छ । यसअघिको चुनावमा भोजपुरबाट प्रतिनिधिसभा निर्वाचन जितेका माओवादी नेता सुदन किराती टिकटका स्वाभाविक दाबेदार हुन् ।

सत्ता गठबन्धनमा जितेको क्षेत्र स्वतः सोही दलले पाउने मापदण्ड नै बनेको छ । यसबाहेक भोजपुरमा काँग्रेसले पनि दाबी छाडेको छैन । गठबन्धनकै घटक जनता समाजवादीको पनि दाबी छँदैछ ।

यस्तो अवस्थामा भोजपुरबाट मुख्यमन्त्री राईले संघको टिकट पाउने निश्चितता छैन । उनको नाम सुनसरी १ बाट एकीकृत समाजवादीले सिफारिश गरेको छ । तर, उनले भोजपुरबाहेक अन्यत्रबाट चुनाव नलड्ने बरु चुनाव नलडी जनताको सेवा गर्ने सामाजिक सन्जालमार्फत भनिसकेका छन् ।

प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई भोजपुरबाट संघीय चुनाव लड्ने सम्भावनाको नजिकै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेभित्र अहिले पनि उस्तै प्रभाव राख्ने राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वास पात्र राईले पार्टीबाट टिकट पाउने सम्भावना उच्च छ । उनलाई भोजपुरकै अर्का नेता कृपासुर शेर्पाले चुनौती दिने प्रयास गरे पनि एमाले नेताहरु शेर्पाले समानुपातिकमा सुनिश्चितता खोजेको बताउँछन् ।
वाम गठबन्धनको बलमा २०७४ को चुनाव सजिलै जितेका शेरधन राईले संसदीय दलको चुनावमा पनि भीम आचार्यलाई हराएर मुख्यमन्त्री हुने अवसर पाएका थिए । २०७७ पुस ५ मा केपी ओलीले संसद् विघटन नगर्दासम्म सजिलै प्रदेशको सत्ता सम्हाल्न पाएका राईलाई त्यसपछि अविश्वास प्रस्ताव भोग्ने, पार्टीभित्रैबाट असहयोग खेप्ने अवस्था आइलाग्यो । गत वर्ष भदौमा एमाले विभाजित भएपछि उनले मुख्यमन्त्री पद छाड्नु पर्यो । उनीसँग कुनैबेला दलभित्र पराजित भीम आचार्यलाई उनले पद सुम्पिएका थिए ।

ठीक त्यहीबेला देखि नै राई ‘अब प्रदेशमा नदोहोरिने’ बताउन थालेका थिए । साताअघि विराटनगरस्थित एमाले पार्टी कार्यालयमा उनले आफूले प्रदेशमा राम्रो काम गरेका कारण पार्टीले केन्द्रमा पठाउन चाहेको दाबी गरेका थिए । ‘मैले प्रदेशमा गरेको राम्रो काम देखेर यसपटक पार्टीले मलाई केन्द्रमै योगदान गर्नुपर्छ भनेपछि मैले संघकै चुनाव लड्ने निधो गरेको हुँ’, राईले भने ‘त्यसैले मेरो प्राथमिकता अब संघ नै हो ।’
करिब दुई महिना मात्रै प्रदेशको मुख्यमन्त्री पद सम्हाल्ने अवसर पाएका एमाले नेता भीम आचार्य प्रदेशमा दोहोर्याउने पक्षमा छैनन् । तर, १० बुँदे पक्षधर हुनुको नाताले संघमा टिकट पाउने टुंगो पनि छैन । आउँदो चुनावका लागि उनको नाम सुनसरी २ बाट सिफारिशमा परेको छ । यद्यपि उनीभन्दा धेरै जुनियर नेताहरुको नाम अन्यत्रबाट सर्वसम्मत सिफारिश हुँदा उनी भने सर्वसम्मत हुन सकेनन् ।

संघमा टिकट नपाए प्रदेशमा चुनाव लड्ने उनको योजना नभएको एमाले नेताहरु बताउँछन् । त्यसको मुख्य कारण नेता आचार्य सुरुमा मुख्यमन्त्री हुन नपाएपछि प्रदेशसँग ‘फ्रस्टेड’ थिए । संसद्मा विरलै मात्रै उपस्थित भएर उनले यसको प्रमाण दिएका थिए । जसै मुख्यमन्त्री बनेर दलको नेता बने, उनी संसद्मा नियमित उपस्थित त भए तर उनले सधैं प्रदेशलाई काम नलाग्ने बनाइएको भन्दै असन्तोष व्यक्त गरिरहे ।
प्रदेशसभाको अन्तिम बैठकमा बोल्ने क्रममा उनले प्रदेशलाई केही गर्न नसक्ने संरचना बनाइएको मात्रै बताएनन्, कमण्डलु बोकेर माग्दै हिँड्ने अवस्थामा पुर्याइएको पनि बताए । ‘प्रदेश संरचनाले काम गर्न नसकेको आम आलोचना रहेको छ । केही नयाँ दल भनिनेहरूले यहि नारा बनाइरहेको प्रति ध्यान दिनु पर्छ’ उनले भनेका थिए ‘ अधिकार तल दिने भनेर भाषण गर्ने तर अधिकार माथि केन्द्रीकृत गरेर प्रदेशलाई मगन्ते जस्तो बनाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।