विराटनगर । उद्योग संगठन मोरङले आउँदो माघमा विराट एक्स्पो आयोजना गर्ने भएको छ । विगत वर्षमाझैं यस पटक पनि कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी (विराट एक्स्पो २०७९) गर्न लागेको हो ।
माघ २६ गतेबाट सुरु हुने एक्स्पो फागुन ३ गतेसम्म सञ्चालन गर्ने उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पो सञ्चालनका लागि संगठनले आवश्यक तयारी आरम्भ गरेको जनाएको छ ।
यसपटक ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूलनाराका साथ एक्स्पो आयोजना गर्न लागेको संगठनले जनाएको छ । एक्स्पोले औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायीक उत्पादन, पर्यटन क्षेत्रको विकास, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बिस्तार, उत्पादकहरुबीच स्वस्थ्य प्रतिष्पर्धा, सम्भावित वजार र प्रविधिको पहिचान, लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विराट एक्स्पोको सातौं संस्करणलाई अघिल्लो भन्दा फरक बनाउन यस पटक क्षेत्रगत सेमिनार, दैनिक पर्यटकीय गन्तव्य प्याकेज, बि टु बी बैठक, स्थानीय फुड फेस्टिवल र विभिन्न जातजातिको भेषभुषालाई समावेश गरी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी छ ।
सात दिनसम्म संचालन हुने एक्स्पोमा २० भन्दा बढी क्षेत्रका तीनसय भन्दा बढी स्टल रहने बताइएको छ । एक्स्पोमा ३ लाख जना भन्दा बढीलाई भिजिट गराउने संगठनको योजना रहेको छ

