विराटनगर । प्रमुख राजनीतिक दलहरुले आगामी प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा उठाउने उम्मेदवारहरु निर्वाचन क्षेत्रबाट सिफारिस गरिसकेको छ । जिल्ला र प्रदेश कमिटीले ती सिफारिसका बारेमा राय दिने र निर्णय लिने प्रक्रिया आरम्भ भइसकेको छ । अबको ७० दिनपछि हुने निर्वाचनका लागि क्षेत्रबाट सिफारिसमा परेका र नपरेका दुवैथरी नेताहरु टिकटका लागि शक्तिकेन्द्र धाउने क्रम सुरु भइसकेको छ । त्यस्तो दौडमा प्रदेश सरकारका मन्त्रीहरुसमेत सक्रिय भएका छन् ।
गठबन्धनमा रहेका राजनीतिक दलहरु मिलेर चुनावमा जाने करिव निश्चित रहेकोले जितका लागि सहज हुने अनुमानसहित दलहरुभित्र टिकट दावी गर्नेहरु बढेका छन् । गठबन्धनका कारणले सिट संख्या घट्ने तर आकांक्षीहरुको संख्या बढ्ने अवस्थाले प्रदेश सरकारका कतिपय मन्त्रीहरुले नै टिकट नपाउने सम्भावना छ । त्यसैले आफ्नो क्षेत्र सुरक्षित हुने गरी उनीहरुले पार्टीमा लबिइङ बढाउने र सुझाव दिने काम गरिरहेका छन् ।
प्रदेश १ मा एक राज्यमन्त्रीसहित १४ जना मन्त्री छन् । प्रदेश १ सरकारको नेतृत्व नेकपा (एस)का केन्द्रीय सचिव राजेन्द्र राईले गरेका छन् । राईसहित प्रदेश १ मा (एस)का ४ जना मन्त्री छन् । मुख्यमन्त्री राई प्रतिनिधि सभाका लागि उम्मेदवार बन्ने तयारीमा छन् ।
पार्टीले मुख्यमन्त्री राईलाई गृहजिल्ला भोजपुर र सुनसरी– १ गरी दुई स्थानबाट सिफारिस गरेको छ । उनले गृहजिल्ला भोजपुरबाहेक अन्यत्रबाट चुनाव नउठ्ने बताएका छन् । भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराँती बहालवाला सांसद हुन् । उनले पनि भोजपुर नछाड्ने बताएका छन् ।
गत चुनावमा अजम्बर काङवाङ राईलाई राजेन्द्रले हराएका थिए । अजम्बर त्यति बेला जसपामा थिए भने अहिले माओवादीमा छन् । मुख्यमन्त्री राई १९ हजार २९७ मत ल्याएर विजयी बन्दा अजम्बरले ११ हजार ५४१ मत ल्याएका थिए । गत चुनावमा वाम गठबन्धन भएको थियो भने भोजपुरमा कांग्रेसले अजम्बरलाई सघाएको थियो ।
संघमा नै उठ्ने भनेर दाबी गरे पनि मुख्यमन्त्री राईले संघमा माओवादीको भागमा भोजपुर परे प्रदेशमा उठ्नेसमेत तयारी गरिरहेका छन् । उनले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै भोजपुर नछाड्ने बताउनुले पनि प्रदेशमै उठ्ने तयारी रहेको संकेत गर्छ ।
उनले लेखेका छन्, ‘म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधैँ मान्नुपर्छ । र, अहिले खास उद्देश्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ । गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छ, त्यसैले उम्मेदवारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु । गठबन्धनभित्र उछिनपाछिन गर्ने पक्षमा म छैन । र, नेताले चुनाव लड्नैपर्छ, सांसद बन्नैपर्छ भन्ने पनि छैन । पार्टी र गठबन्धनले मलाई उम्मेदवार नबनाउने निर्णय ग¥यो भने म उम्मेदवार नबन्न तयार छु ।’ निकट स्रोतका अनुसार उनले प्रदेशमा उठ्ने संकेत गर्दै यो स्टाटस लेखेका हुन् ।
प्रदेशमा उठ्दा गत चुनावमा भन्दा बढी मत ल्याउने उनको दाबी रहेको छ । मुख्यमन्त्री भएपछि आफ्नो क्षेत्रमा गरेको विकास नै चुनाव जित्ने आधार रहेको उनको दाबी छ । संंघमा माओवादीले पाए प्रदेश १ (क) मा कांग्रेस र प्रदेश १ (ख) मा उनले टिकट पाउने छन् ।
नेकपा एसका अन्य तीनै जनाको नाम सिफारिस भएको छ । सामाजिक विकास मन्त्री राजन राईको नाम खोटाङबाट प्रतिनिधिसभामा सिफारिस भएको छ । गत चुनावमा कांग्रेसका सुवासकुमार पोख्रेललाई हराउँदै उनी विजयी भएका थिए । राजनले १८ हजार ९३३ मत ल्याउँदा पोख्रेलले १३ हजार ४११ मत ल्याएका थिए । राजन पनि प्रतिनिधिसभामा टिकट नपाए प्रदेशमै उठ्ने तयारीमा छन् ।
यस्तै इलाम १ (क) बाट संस्कृति तथा पर्यटन मन्त्री खिनुलङ्वा लिम्बूको नाम सिफारिस भइसकेको छ । संघमा भने झलनाथ खनालको नाम सिफारिस भएकाले उनले प्रदेशमै उठ्ने इच्छा देखाएकी छन् । गत चुनावमा खिनु १८ हजार ६८६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रकुमार राईले ९ हजार ३२७ मत मात्रै ल्याएका थिए ।
नेकपा एसबाट नै यातायात तथा सञ्चार मन्त्री बनेका उपेन्द्रप्रसाद घिमिरेले मोरङ क्षेत्र नम्बर १ बाट प्रदेमशकै लागि तयारी थालेका छन् । उनको नाम सिफारिस भइसकेको छ । उर्लाबारी, मिक्लाजुङ तथा केराबारी गाउँपालिका यस क्षेत्रमा पर्छ । स्थानीय तहको निर्वाचनमा अन्य क्षेत्रभन्दा राम्रो मत आएकाले पनि गठबन्धन हुँदा मोरङ क्षेत्र नम्बर १ (ख) बाट समाजवादीको भागमा पर्ने उनको दावी छ ।
मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले उनको नाम सिफारिस गरिसकेको छ । संघमा नभए प्रदेशमै उठ्ने तयारीमा उनी छन् । २०७४ को निर्वाचनमा घिमिरे १७ हजार ११७ मत ल्याएर विजयी बन्दा कांग्रेसका ईश्वरी कोइरालाले १४ हजार ३१० मत ल्याएका थिए । कोइरालाको निधन भइसकेको छ ।
प्रदेश १ मा माओवादीका ३ जना मन्त्री छन् । प्रदेश १ कै पावरफुल मन्त्रीका रूपमा इन्द्रबहादुर आङ्वोलाई लिने गरिन्छ । उनी शेरधन राईको पालामा आर्थिक मामिला तथा योजना मन्त्री थिए भने राजेन्द्र राईको पालामा पनि त्यही मन्त्रालयमा छन् । नेकपामा आएको विवादका कारण शेरधनले उनलाई सरकारबाट हटाएका थिए ।
प्रदेशमा दुईपटक मन्त्री भएकाले अब मुख्यमन्त्री दिने भए मात्रै प्रदेशमा दोहोरिने शर्त उनले नेताहरू समक्ष राखेका छन् । संघमा बार्गेनिङ गरेर मुख्यमन्त्री बन्ने दाउमा आङ्बो रहेको निकट स्रोतले बताएको छ । उनको प्रदेशशभामा सिफारिस समेत भएको छ । अघिल्लोपटक आङ्बो १६ हजार ९०८ मत ल्याएर विजयी बन्दा कांग्रेसका सुरेन्द्र दाहालले १२ हजार ११७ मत ल्याएका थिए ।
माओवादीबाटै प्रतिनिधित्व गर्ने खानेपानी मन्त्री रामकुमार राई खोटाङ १ (ख) बाट निर्वाचित भएका हुन् । आफ्नो इच्छा संघमा भए पनि पार्टीको निर्णयानुसार अगाडि बढ्ने उनले बताएका छन् । अघिल्लोपटक उनले १८ हजार ३७२ मत पाउँदा कांग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत पाएका थिए ।
यस्तै झापा ४ (क) बाट निर्वाचित भएका झलकसिंह दर्लामी मगर कृषि मन्त्री छन् । उनी संघमा उठ्ने सम्भावना कम छ । झापामा माओवादीले एउटा प्रतिनिधिसभा क्षेत्र मात्र लिने सम्भावना रहेकोले केपी ओलीको क्षेत्र माओवादीले रोज्न सक्ने भएकोले दर्लामी पुनः प्रदेशमै आउने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
जनता समाजवादीका जयराम यादव प्रदेश १ का स्वास्थ्य मन्त्री हुन् । संविधानसभाका सदस्य समेत रहेका यादवले पाटीको निर्णयानुसार गर्ने बताएका छन् । ‘मेरो इच्छा संघमा हो तर म स्वतन्त्र होइन,’ उनले भने, ‘पार्टीले जे भन्छ, त्यही गर्छु ।’ समाजवादीका नेताका अनुसार उनी प्रदेशसभामै उठ्ने तयारीमा लागिसकेका छन् ।
प्रदेश १ को दोस्रो दोस्रो ठूलो दल नेपाली कांग्रेसका ५जना मन्त्री छन् । सडक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीको नेतृत्वमा काँग्रेसले सरकारमा पठाएको थियो । उदयपुर क्षेत्र नम्बर २ को १ (ख) बाट उनी निर्वाचित भएका हुन् । सो क्षेत्रमा माओवादीका सुरेशकुमार राई निर्वाचित भएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाका विश्वास पात्र मानिएका कार्की प्रदेशमै उठेर मुख्यमन्त्री बन्ने दाउमा रहेका छन् । गत चुनावमा उनले १६ हजार ७०२ मत ल्याउँदा माओवादी केन्द्रका रामबहादुर थापा मगरले १५ हजार १९४ मत प्राप्त गरेका थिए ।
कांग्रेसकै केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । उनी संस्थापन इतर समूहका हुन् । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट निर्वाचित कार्की प्रदेशमा उठ्ने लगभग पक्का जस्तै छ ।क्षेत्र नम्बर –६ मा प्रतिनिधिसभामा नेता शेखर कोइरालाले टिकट पाउने लगभग पक्का छ । गठबन्धन भए ६ कै १ (क) बाट माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यले टिकट पाउने सम्भावना छ ।गत चुनावमा मन्त्री कार्कीले ११ हजार २९८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश पोख्रेलले ८ हजार १२० मत प्राप्त गरेका थिए ।
वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापालाई मोरङ क्षेत्र नम्बर ३ (ख) बाट कांग्रेस क्षेत्रीय कमिटीले उम्मेदवारका रूपमा सिफारिस गरेको छ । झापाका ओमप्रकाश सरवगीले पनि संघमा टिकट पाउने सम्भावना कम देखिएको कांग्रेसकै नेताहरू बताउँछन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतापप्रकाश हाङ्गामको पनि संघमा जाने सम्भावना ज्यादै न्यून रहेको नेताहरूको भनाइ छ । यस्तै लोकतान्त्रिक राष्ट्रिय मञ्च एक्ली सांसद एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे पनि प्रदेशमै उठ्ने तयारीमा छन् ।

