हेमराज दाहाल
संस्कृतमा एउटा श्लोक छ । उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता । सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते । अर्थात् दश जना उपाध्यायभन्दा बढी एक जना आचार्य, सय जना आचार्यभन्दा बढी एउटा बाबु र हजार बाबुभन्दा बढी एउटी आमा बाल विकासका लागि महत्वपूर्ण हुन्छिन् । आमाबाबुको काम सन्तानलाई जन्म दिने मात्र होइन । त्यसपछिको कर्मको मर्म अनुरुपको धर्म पनि सिकाउन सक्ने ल्याकत राख्नु पर्दछ । जसको प्रभाव सन्ततिले तर्ने अनेकौं जँघारमा शक्ति बनेर आवोस् । चिन्ता, चिन्तन र चैतन्यलाई चिन्ने राजमार्ग नै त बनाउन नसकिएला तर रेखा चाहिं अवश्य कोरिदिनुपर्छ । मान्छे चिनाइदिनुस् । मानवता र दानवता देखाइदिनुहोस् । सत्यको मन्दिरमा पूजा गर्न प्रेरित गर्नुहोस् न कि फगत प्रशंसाका पुलिन्दा सहितको भेटीले पूज्न मात्र । एउटा बालकको चौतर्फी विकासमा अभिभावकको विशेषत आमाबुबाको भूमिका कस्तो हुनुपर्छ ? हामी कस्ता अभिभावक हौं ? भगुवा कि अगुवा ? कति सच्चा कति कच्चा ? स्मार्ट अभिभावक कसरी बन्ने ? जस्ता बिषयमा आउनुहोस् अब विमर्श गरौं ।
पहिलो प्रसंग : बाबुआमा र छोराछोरी बीचको संवाद
संवाद –१
छोरा : ‘बाबा, बाबा ! म दौडमा फस्र्ट भएँ । यि, हेर्नाेस् त ट्रफी !’ बाबा : पढ्नु गुन्नु क्यै छैन । पढाइमा फस्र्ट भए पो !’
संवाद –२
छोरा : ‘आमा, आमा ! म क्लासमा फस्र्ट भएँ । यि, हेर्नाेस् त पुरस्कार !’ आमा : ‘यस्तो लुरे छस् । खेलकुदमा फस्र्ट भएँ पो !’
संवाद –३
‘आज मैले गीतमा सबैलाई जिते नि !’ ‘गीत गाएर के हुन्छ ? खान पाइन्छ ? पढाइमा ध्यान दिने गर ।’
संवाद –४
‘आज मैले गज्जब भाषण गरें नि ? सरहरुले पनि ताली बजाउनुभयो ।’ ‘भाषण गरेर के हुन्छ ? जाँचमा नम्बर पाइन्छ ?’
संवाद –५
‘मम्मी, मम्मी ! मैले सफाइमा पुरस्कार पाएँ । यि, हेर्नाेस् त !’ ‘ पढ्नु गुन्नु क्यै छैन, नक्कल पार्न त जानेकी छेस् नि । कसरी घर गरेर खालिस् ?’
यी माथिका संवाद भारतीय लेखक गिजुभाइद्वारा लिखित र नेपाली भाषाशास्त्री शरच्चन्द्र वस्तीद्वारा अनुवादित ‘हामी आमाबाबु’ पुस्तकको पृष्ठ १३ को उपलब्धीको अपमान शीर्षकबाट लिइएको हो । यी र यस्ता संवाद हामी अभिभावकका लागि त सामान्य नै लाग्छन् । हामी दैनिक रुपमा यस्ता कुराकानी गरिरहेका हुन्छौं । तर, हाम्रा स–साना बालबालिकाहरुको मनमष्तिष्कमा जहिल्यै पीडा दिने काँडो बनेर बसेको हुन्छ । त्यति कुरा पनि हामीले हेक्का राखेका छैनौं वा जानीजानी पनि त्यस्ता शव्दहरुबाट पर्ने नकारात्मक सन्देशको समीक्षा गरेका छैनौं । केटाकेटीको उत्साह, उत्सुकता उत्प्रेरणालाई अपमान गर्छाै । अवमुल्यन गर्छांै । बालबालिका केही नयाँ काम गर्न खोज्छन् । त्यो उनीहरुको स्वभाव नै हो । हामी तँलाई आउँदैन, उम्रिदैकी तीन पात भन्दै कुज्याउँछौं । यो नै सबैभन्दा ठूलो कालकोट विष बनिरहेको छ । हामी कहाँ चुकेका छौं त ? हेरौं ।
विद्यालयमा आफ्ना छोराछोरीले प्राप्त गरेको परीक्षाको अकंले नै उसको भाग्य र भविष्यको फैसला गर्छ भन्ने भ्रम छ । परीक्षामा ९८ प्रतिशत अकं ल्याउदा किन ? १०० प्रतिशत आएन भन्नेमा बार्गेनिङ गर्छाै । आफ्नो बच्चालाई ज्ञानी होस् भन्यौं । सिद्धान्त सिकायौं तर सीप सिकाएनौं । संस्कार सिकाएनौं । व्यवहार सिकाएनौं । आचरण सिकाएनौं । महत्व घोक्न लगायौं । तर, मुल्यमान्यता सिकाएनौं । निर्णय सिकायौं तर नैतिकताको मर्म सिकाउन बिर्सिन्छौं । यसै सन्दर्भमा प्रसिद्ध शिक्षाशास्त्री टी रेमन्टले भनेका छन्, ‘आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ ।’ तसर्थ तीन घण्टे परीक्षाको आधारमा बालबालिकाहले प्राप्त गरेको पास फेलको पूर्जाले उसको व्यक्तित्व किमार्थ पूर्ण हुदैंन भन्ने कुराको ज्ञान प्रत्येक अभिभावकमा हुन जरुरी छ ।
उदाहरणका लागि एउटा बालकलाई बोटबिरुवामा किन पानी चाहिन्छ ? भनेर परीक्षामा सोधियो भने एक अनुच्छेद लेख्न सक्छन् तर आफ्नै घरमा रहेको गमलाको फुल पानीको अभावले सुकिरहेको हुन्छ । आखिर किन ? उत्तर सहजै आउँछ । हामीले ज्ञान मात्र दियौं तर उसको वास्तविक जीवनसँग तालमेल गराउन असमर्थ रह्यौं । हुनत यो विषयमा अभिभावक मात्र जिम्मेवार छन् त ? जरुर छैनन् । यहाँ परीक्षा प्रणालीको दोष छ । नीतिको अभाव होला । जीवनोपयोगी पाठ्यक्रम छैन होला । शिक्षालय पनि त्यक्तिकै जिम्मेवार छन् । शिक्षकको पनि भूमिका महत्वपूर्ण होला । यसका पछाडि बृहद पक्षहरु होलान् । तर, यी सबै बालबालिकाको लागि शिक्षा प्राप्त गर्ने दोस्रा माध्यम हुन् । तर, प्रधान भूमिका त आमाबाबुकै हुन्छ । बालबालिकाको शिक्षाको सुरुवात कोक्रोबाट भएर चितामा अन्त्य हुन्छ भनेझैं बालकको गर्भधारणदेखिको वातावरण सिर्जना गर्नेसम्मको अहम् भूमिका अभिभावककै काँधमा रहेको छ । तसर्थ अभिभावकले सोच बदलौं आफ्ना छोराछोरीको संस्कार आफै बदलिन्छ । अवसर दिउँ अवरोध होइन । सानैदेखि आत्मबल बढाऔं । दण्डलाई जिम्मेवारीले प्रतिस्थापन गरौं ।
लेखक : बर्जु गाउँपालिका शिक्षा शाखामा कार्यरत छन् ।