धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा पदबाट राजिनामा दिएका पूर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले क्वार्टर खाली नगरेपछि नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले टेण्ट टागेर बस्ने तयारी गरेका छन् ।
रजिष्ट्रार डा.संग्रौलाले क्वाटर नपाएपछि प्रतिष्ठान परिसरमा रहेको वीपी कोइरालाको सालिक क्षेत्रमा टेण्ट टागेर बस्ने तयारी गरेका हुन् ।
टेण्टलाई नै आवास (क्वार्टर)को रुपमा प्रयोग गर्ने संग्रौलाले बताएका छन् । क्वार्टरबारे उपकुलपतिबाट ठोस निर्णय नआएकोले टेण्टमा बस्न लागेको उनको भनाइ छ ।
आफूले साउन १७ गते पदभार ग्रहण गरेको भएपनि अहिलेसम्म रजिष्ट्रारको क्वार्टर उपलब्ध हुन नसकेको संग्रौलाले बताए । उनी लामो समय गेष्ट हाउसमा बसेका थिए भने ३ दिनयता विराटनगरस्थित घरबाट नै प्रतिष्ठान धाइरहेका छन् ।
रजिष्ट्रारको क्वार्टरमा राजिनामा दिएका पूर्वरजिष्ट्रार डा.रेग्मी परिवारसहित बस्दै आएका छन् । नवनियुक्त रजिष्ट्रार डा.संग्रौलाका अनुसार उपकुलपतिले यसअघि आवास खाली गराउन ७ दिन र पुनः ३ दिनको समय दिएर पूर्वरजिष्ट्रारलाई पत्राचार गरेका छन् । तर, रेग्मीले विदेश जानुपर्ने, परीक्षा आएको, वा पुर्वउपकुलपति डा.आरके रौनियारको क्वार्टर उपलब्ध गराउन भन्दै पत्र लेखेका छन् ।
आफ्नो कुनै विकल्प नभएपछि टहरोमा नै भएपनि बस्ने भनेर तयारी गरेको संग्रौलाले बताए । प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनालले समस्या हल गर्न आवश्यक समन्वय र पहल भइरहेको बताएका छन् ।