धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–२ फलामेटारका गणेशबहादुर कार्की र दुर्गाकुमारी कार्कीले साउदी अरबको जेलमा रहेका आफ्ना छोराको जीवन रक्षा गरिदिन अपिल गरेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २९ वर्षीय दिनेश कार्की सवारी ज्यान मुद्दामा जेलमा रहेको भन्दै उनीहरुले छुटाएर नेपाल ल्याउने पहल गरिदिन सरकारसमक्ष अनुरोध गरेका हुन् ।

दिनेशलाई त्यहाँको प्रशासनले ५७ हजार रियाल क्षतिपूर्ति वापतको जरिवाना भर्न भनेको छ । त्यो तिर्न नसक्दा १३ महिनादेखि उनी जेलमै रहेका छन् । दिनेशका बुबाआमाले आर्थिक सहयोग गरी छोराको जीवन बचाइदिन याचना गरेका छन् ।आर्थिक अवस्था कमजोर रहेको परिवारले कमाउन विदेश गएको छोरा जेलमा रहेकोले समस्या भएको बुबा गणेशबहादुर बताए । ५७ हजार रियाल अर्थात १८ लाख नेपाली रुपैयाँ तिर्नसक्ने अवस्था नरहेको भन्दै उनले सहयोगको आग्रह गरेका हुन् ।

गणेशबहादुर शारिरिक रुपमा असक्त छन् । १५ वर्षअघि लडेको कारण सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन् । कमाउन गएको छोरा जेलमा परेको खवर सुनेदेखि भोक निन्द्रा हराएको दिनेशका आमा दुर्गाकुमारी कार्कीले बताइन् ।छोरो जेलमा परेको करिब एक वर्ष परिवारले कुनै जानकारी पाएको थिएन । छिमेकी भाइ महेन्द्र न्यौपानेले फोनमा छोरा जेलमा परेको जानकारी दिएको बताइएको छ । विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सरकारले गर्ने गरेको सुनेको कार्की परिवारले दिनेशको उद्धार हुने अपेक्षा राखेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दिनेश साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रुपमा काम गर्न ५ वर्ष अघि पुगेका थिए । कम्पनीले श्रम सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि अवैध रुपमा काम गर्न थालेका उनले चलाएको सवारी साधन दुर्घटना भएपछि पक्राउ परेका हुन् ।

अबैध रुपमा बसेको कारण उनी पक्राउ परेका हुन् । राजदुतावाससँग सहयोग लागि अनुरोध गरेपनि अबैध रुपमा बसेकोले सहयोग गर्न नसकिने बताएको परिवारको भनाइ छ । दिनेशका तीन दाजुभाईमध्ये दुई वर्ष अघि जेठा दाई र १ महिना अघि माइला दाई वैदेशिक रोजगारका लागि विदेश गएका छन् ।