विराटनगर । प्रदेश १ को कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउनका लागि सार्वजनिक र निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । कृषि उत्पादनमा सम्भावना बोकेको भएपनि निजी क्षेत्रको पर्याप्त लगानी हुन नसकेका कारण प्रदेश १ को कृषि व्यवसायको विकासमा अझै चुनौति रहेको जनाइएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ले बिहीबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारीका अवसरहरु बिषयक कार्यशालामा सहभागीहरुले कृषि क्षेत्रको उत्पादन बृद्धिका लागि निजी क्षेत्रको पर्याप्त सहभागीता आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै महासंघ प्रदेश अध्यक्ष टिकाराज ढकालले मलको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताए । उनले राज्यले आश्वासन मात्रै दिने तर बिउ र मलजस्ता अत्यावश्यक चिजको अभाव भएकोले निजी क्षेत्र लगानीका लागि तयार हुन नसकेको बताए ।

नेपालमा निजी क्षेत्रसँगको साझेदारी बिना कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउन चुनौतिपूर्ण रहेको डा.अर्जुन बरालले बताए । । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले वि.सं. २०५७ सालपछि सार्वजनिक निजी साझेदारी अवधारणाले ठोस रुप लिंदै गएको र २०६३ पछि पूर्वाधार संरचनाको निर्माण तथा संचालनमा निजी क्षेत्रले प्रवेश पाएकोले त्यसपछिमात्रै कृषि क्षेत्रलाई निजी क्षेत्रले लगानीको क्षेत्रका रुपमा लिन थालेको जानकारी दिए ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाष बोहराले भूमिको उचित वितरण गर्ने नीति नभएका कारण किसानको सवलिकरण हुन नसकेको बताए । किसानलाई अनुदान दिएरमात्रै कृषि क्षेत्र अघि नबढ्ने बताउँदै उनले उत्पादन भएका उपजहरुको उचित बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कृषि मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले आएको मलको समानुपातिक वितरण गरेर गाउँका सहकारीहरुमा पठाउने संयन्त्रको विकास गरिए पनि केही सहकारी संस्थाहरुले उदेश्य अनुसार मल वितरण नगर्दा सवै क्षेत्र आरोपित हुनुपरेको गुनासो गरे । महासंघका केन्द्रीय सदस्य एवं प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले कृषि क्षेत्रमा प्रचुर रहेको सम्भावनालाई कृषि पर्यटनसँग जोडेर अघि लैजाने अवधारणा प्रभावकारी हुने बताए ।