लोड हुँदैछ...

मेनु

सिलिचोङका ५५ परिवारले दुई वर्षपछि जग्गा पाए

सिलिचोङका ५५ परिवारले दुई वर्षपछि जग्गा पाए

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ परिवारलाई जग्गा बाँडफाँड गरी हस्तान्तरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्त रुपमा विस्थापित ५५ परिवारहरुलाई गोलाप्रथा गरेर जग्गा बाँडफाँड गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

२०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई खाँदवारी नगरपालिका–७ मा जग्गा बाँडफाँड गरि हस्तान्तरण गरिएको छ । पहिरोबाट विस्थापित ९२ मध्ये ५५ परिवारले पुनःस्थापनाका लागि खाँदवारी रोजेका थिए ।
खाँदवारी नगरपालिका उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा व्यवस्थापन समितिले निशुल्क तथा सशुल्क जग्गा दिन चाहनेहरुबाट विवरण संकलन गरि सवैभन्दा राम्रो मानिएको खाँदवारी ७ भैरे डाँडाको जग्गा छनौट गरेको थियो । समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरेको हो । भुगर्वविदहरु तथा प्राविधिकहरुको प्रतिवेदनपछि जिल्ला विपद व्यवस्थापन समितिले जग्गा खरिद गरि पीडित परिवारलाई हस्तान्तरण गरेको छ । जग्गाको लालपूर्जा संयुक्त नाममा भए पनि घर निर्माणको लागि कित्ताकाट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो ।

पहिरो गएकै स्थानमा दुई वर्षसम्म जोखिम मोलेर बस्दै आएका पहिरो पीडितहरू जग्गा पाएपछि खुसी भएका छन् । पहिरोले सिंगो गाउँ नै बगाएपछि बेसिन्दा र चेप्चेवाका नागरिक विस्थापित बनेका थिए । पहिरोमा परि ११ जना अझै वेपत्ता छन् । जग्गा बाँडफाँडसँगै पहिलो चरणमा अस्थायी टहरा बनाउन ५० हजार रुपैयाँ र घर बनाउन तीन किस्तामा ५ लाख रुपैयाँ दिने व्यवस्था कार्यविधिमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । पहिरो विस्थापित ९२ परिवारमध्ये २५ घरधुरीलाई सिलिचोङ गाउँपालिकाको चित्रे गाउँमा र चेप्चेवाका १२ घरलाई बखल्टुममा स्थानान्तरण गरिएको छ । चित्रेमा ५१ दशमलब ५ रोपनी ७० लाख र बखल्टुममा १७ दशमलब ५ रोपनीे ३४ लाखमा खरिद गरि पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढेको थियो । संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरिएको थियो । पहिरो विस्थापितहरूलाई मनसुनजन्य विपद प्रभावितहरूलाई पुनःस्थापना गर्ने सम्बन्धी कार्यविधि अनुसार बजेटको व्यवस्थापन गरेर जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो । कार्यविधि अनुसार संघीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।