विराटनगर । भारतदेखि तस्करी भएर आएको ठुलो परिमाणमा डिएसपी मल सुनसरी प्रहरीले बरामद गरेको छ । प्रहरीले दुहबीबाट तस्करीको मलसहितको ट्रक बिहीबार दुहबी १० चरैयाबाट नियन्त्रणमा लिएको हो । प्रहरीले को १ ख ७६१९ नम्बरको ट्रकमा लोड गरी इनरुवा लैजाँदै गरिएको सय बोरा अवैध मल बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

मल तस्करी गर्ने दुहबीका व्यापारी सुरेन्द्र कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीको दुहबीमा चन्द्र सूर्य एग्रो भेट्स पसल रहेको छ । उनले भरिया प्रयोग गरी आफ्नो गोदामसम्म मल ल्याउने र पूर्वी बजारमा पठाउने गरेको प्रहरीले जनाएको छ ।

एसपी प्रभु ढकालले तस्करी गरी ल्याइएको मलसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बरामद मल र ट्रकलाई सबै प्रक्रिया पुरा गरेर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको बताए । ट्रकबाट ८० बोरा युरिया मल र २० बोरा डिएपी मल बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।