विराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगर मा संचालित प्रहरी जवान १३९ औ समूहको आधारभूत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरू दीक्षित भएका छन् । तालिम केन्द्रमा बिहीबार एक कार्यक्रम आयोजना गरी १५४ महिलासहित ७१४ जना दीक्षित भएका हुन् ।
गत असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औँ समूहको २ सय ३४ दिनको आधारभूत तालिम पश्चात् उनीहरू दीक्षित भएका हुन् ।
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगर मा ५२४ जना, १ नम्बर प्रदेश प्रहरी गण रानीमा ९८ जना र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा ९२ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा संयुक्त रूपमा दीक्षित गरिएको हो ।
दीक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यामान कानुन, प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी गराए । दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले शब्दमा शपथ ग्रहण गराए ।
प्रशिक्षार्थीहरूलाई तालिम अवधि भर लिएको चरणगत परीक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अच्युत राज राई सहित विभिन्न ९ विद्यामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरू र तालिममा सहभागी प्रशिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरे ।
कार्यक्रममा गिरीले अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेसामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दीक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गरे । उनले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापूर्वक, ईमान्दार र बफादारी भई उच्च मनोबलका साथ जनताको सेवामा खटिन दीक्षित प्रहरी जवानहरूलाई निर्देशन दिए । उनले दीक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरू मध्येका सर्वप्रथम हुने प्रहरी जवानलाई दर्ज्यानी चिन्हले सु–शोभन गरे ।
दीक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्दै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न ग¥यो अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरूकै रहेको बताए । उनले समाज र संगठनले अपेक्षा गरे अनुरूप निष्ठापूर्वक कार्य गर्न दीक्षित प्रहरी जवानहरूलाई निर्देशन हुँदै दीक्षित भई जाने प्रहरी जवानहरूलाई कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिए ।
कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरी तथा पदाधिकारीहरू, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानका अभिभावकहरू, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।