विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लब उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ ।

महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने निर्णय भएको अध्यक्ष संजीव खनालले बताए । निष्ठुरीलाई २५ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही पुरस्कृत भइसकेका छन् ।

त्यसैगरि खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा पुरस्कृत हुने भएका छन् । उनलाई ११ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने निर्णय भएको अध्यक्ष खनालले बताए । यसअघि यो पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् कमल पौडेललाई प्रदान गरिएको थियो ।

दुवै पुरस्कार मोतिराम जयन्तीका अवसरमा भदौ ११ गते प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा समर्पण गर्ने निर्णय गरिएको महासंघ मोरङले विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।