विराटनगर । सेवाग्राहीलाई छुट दिने भनेर अग्रिम पैसा असुल्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ५० प्रतिशत छुटमा सामान उपलब्ध गराउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आशंकामा भारत तमिलनाडुका ५५ वर्षीय साराभाम वामानन्दलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीसँगै पसल सञ्चालन गर्ने अन्य चार जना भने फरार रहेका छन् । फरार रहेकाको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
रुबि इन्टरप्राइजेज नामक पसल दर्ता गर्दै वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयबाट इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने अनुमति लिएर ठगी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वामानन्दको नाममा गत जेठ ११ गते दर्ता गरी विराटनगर–५ को भृकुटीमार्गमै पसल सञ्चालन गरिएको एसपी कोइरालाले बताए ।
इलेक्ट्रोनिक्स सामानको मात्रै अनुमति लिएर अरू सामानसमेत विभिन्न ‘स्किम’ देखाएर शंकास्पद कारोबार गरेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएको एसपी कोइरालाले बताए । पसलले तिरेको १८ दिनपछि मात्रै ग्राहकलाई सामान उपलब्ध गराउने गरेको थियो ।
सामानमा ५० प्रतिशत छुटको अफर दिएपछि छुटको प्रलोभनमा परेर सर्वसाधारणले समेत विभिन्न सामग्री खरिद गर्ने गरेका थिए । बजार मूल्यभन्दा आधा रकममा सामान बिक्री गर्ने भनी छुटको स्किम देखाएर ३५ लाख जति पैसा असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।
इलेक्ट्रोनिक्स मात्रै अनुमति लिएर पसल सञ्चालन गरिरहेका उनले फ्रिज, मोटरसाइकल, ग्यास चुल्हो, फर्निचरका सामान, साइकल, मोबाइलदेखि सबै प्रकारका घरायसी सामान बेच्ने गरेको भेटिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले भने, ‘बजार मूल्यभन्दा सस्तोमा बिक्री गरेपछि शंकास्पद देखिएको छ ।’
प्रजिअ दाहालकै निर्देशनमा प्रहरीले पसलमा छापा मारेर वामानन्दलाई नियन्त्रणमा लिएको हो । पसलमा वडा कार्यालयले ताला पनि लगाएको छ । ग्राहकलाई उपलब्ध गराउने भनिएको सामानहरू पसलभित्र नभेटिएको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए ।
पक्राउ परेका विरुद्ध सामूहिक किटानी जाहेरी पनि परेको थियो । जाहेरीका आधारमा प्रहरीले वामानन्दविरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ । पक्राउ परेका वामानन्दले भने ५० प्रतिशत छुटको ‘स्किम’ तीन महिना अवधिका लागि मात्रै रहेको प्रहरीलाई बताएका छन् ।
तर, प्रहरीले भने छुटको अफर देखाएर मुलुकभर सञ्जाल विस्तार गरी पैसा उठाउँदै फरार बन्ने योजना रहेको हुनसक्ने अनुमान गरेको छ ।

