लोड हुँदैछ...

मेनु

कोशी अस्पताल भवन निर्माण ठेकेदार बेपत्ता, दुई महिनादेखि काम ठप्प

कोशी अस्पताल भवन निर्माण  ठेकेदार बेपत्ता, दुई महिनादेखि काम ठप्प

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलोमध्येको एक सरकारी स्वास्थ्य प्रतिष्ठान हो कोशी अस्पताल । विराटनगरस्थित यो अस्पतालका लागि नयाँ सुविधासम्पन्न भवन निर्माणका क्रममा छ । तर, निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि दुई महिनादेखि भवनको काम ठप्प भएको छ ।

अस्पतालको नयाँ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो । रमन, भूमि, बिआईपीएल जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा ठेक्का लिएको थियो ।

ठेक्का पाएपछि २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाइसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो । शिलान्यास गरेको ९ महिनासम्म निर्माणको काम गरेपछि निर्माण कम्पनीका संचालक असार महिनादेखि सम्र्पकविहीन बनेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए ।

ठेकेदार कम्पनीले २० देखि २५ प्रतिशतमात्र काम गरेपछि सम्पर्कविहीन भएको उनले बताए । ‘निर्माण सुरू भएको ९ महिनामा ३० देखि ३५ प्रतिशत काम सम्पन्न गरिनुपर्ने हो,’ इन्जिनियरसमेत रहेका रामले भने, ‘अहिले निर्माण कम्पनी सम्पर्कमा छैन । काम गर्न हामीले पत्राचार पनि गरेका छौं । त्यसको कुनै रेसपोन्स आएको छैन ।’

दुई महिनादेखि निर्माण कम्पनीले काम रोकेपछि २६ साउनमा सहरी विकास तथा भवन निर्माण विभागको कार्यान्वयन इकाइले सम्झौता गरेको अवधिमा काम सक्ने गरी काम गर्न निर्देशनसहितको पत्र काटेको छ । ‘निर्माण कार्यको सहरी विकास मन्त्री मेटमणि चौधरी तथा शहरी विकास तथा भवन निर्माण विभागका उच्च पदाधिकारीहरुबाट अनुगमन हुँदा निर्माण कार्य अन्त्यन्त सुस्त गतिमा भइरहेको र कार्य तिब्रता बढाइ सम्झौता अवधिभित्र सम्पूर्ण कार्यहरु सम्पन्न गर्न गराउन निर्देशन समेत भएकोले सोही अनुसार तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्नेगरि संसोधित कार्यतालिका समेत यस कार्यालयमा पेश गर्न हुन जानकारी गराइन्छ,’ रमन, भुमी÷ बि.आई. पि.एल. जे.भीलाई काटेको पत्रमा उल्लेख छ ।

९ भदौमा उक्त जेभीलाई पत्र काटेको १५ दिन पूरा हुनेछ । पत्र बुझेको १५ दिनभित्रमा पनि निर्माण प्रक्रियाको काम अगाडि नबढाए कानुन अनुसार ठेकेदार कम्पनीलाई कारवाही प्रक्रिया सुरु हुने इकाइ विराटनगरका प्रमुख गणेशबहादुर महर्जनले बताए । कानुन अनुसार ठेकेदार कम्पनीले राखेको बैंक ग्यारेन्टी तान्नेदेखि विभिन्न कारवाहीको प्रक्रिया अगाडि बढ्न सक्ने प्रावधान छ ।

निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ७ करोड ५ लाख ७ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण गरे अनुसारको भुक्तानी लिएको हो । यसरी निर्माणको चरणमा रहँदै गर्दा बीचमा ठेकेदारले काम रोक्दा सम्झौता अवधिमा निर्माण पुरा हुन नसक्ने प्राविधिकहरुले बताएका छन् । निर्माण कम्पनीले २०८० पुस २२ गतेसम्म निर्माण सम्पन्न गरी पाँच तलाको सुविधा सम्पन्न भवन हस्तान्तरण गर्नुपर्ने छ । यही तरिकाले निर्माणको काम अगाडि बढ्ने हो भने सम्झौता अवधिमा पूरा नहुने निश्चित भएको छ । ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ । टेन्डर आव्हान गरेको भन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेभीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरु बताउँछन् । निर्माण कम्पनीका सञ्चालक कृष्ण बोहरालाई अस्पतालको भवन निर्माणको काम रोकिएको विषयमा सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

निर्माणाधीन नयाँ भवन ४ कट्ठा २ धुर जमिनमा फैलिएको छ । भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ , दोस्रो तलामा एचडियूसहितको डाइलोसिसलगायतका सेवाहरू हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तला ५० शैय्याको हुनेछ । चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तला पनि ५० शैय्याको नै हुनेछ ।

पहिलो चरणमा पाँच तलाको भवन बन्ने हो । त्यसपछि योजना अनुसार तला थप हँुदै जानेछ । ‘मास्टर प्लान’ अनुसार ७ तलाको बनाउने भवनको लागत इस्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि पाँच सय शैय्या पु¥याउने कोशी अस्पतालका निमित्त प्रमुख डा. यज्ञराज खरेलले बताए ।

‘सम्झौता अवधिमा भवन निर्माण गरि हामीलाई हस्तान्तरण गरेपछि शैय्या विस्तार गरी क्याथल्याबसहितको मुटुको सेवा पनि सुचारू गर्ने हामीले लक्ष्य लिएका छौं,’ खरेलले भने, ‘अहिले निर्माणको काम दुई महिनादेखि ठप्प रहेको छ । निर्माण कम्पनीको यही तालले समयमै काम नसकिने देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।