विराटनगर । गृह मन्त्रालयले मिटरब्याजी विरुद्ध उजुरी दिन सार्वजनिक आव्हान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङका १५ जना विरुद्ध उजुरी दर्ता भएको छ ।
सरकारले तोकेको समयसीमा भित्र जिल्ला प्रशासन कार्यालय मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये विराटनगर महानगरपालिकाभित्रका १६ वटा उजुरी विभिन्न १५ जना व्यक्तिका विरुद्धमा रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
विराटनगर १८ का मिटरब्याजी धन्दावाला धनजित मण्डलका विरुद्ध पीडित पक्षले उजुरी दर्ता गराएका छन् । यस्तै विराटनगर १७ का शिवु विश्वकर्मा र विराटनगर १८ का गुलाबचन्द यादव, विराटनगर ७ का ललन ठाकुर, विराटनगर १२ का झरिलाल यादव, विराटनगर ४ का महानन्द यादव, विराटनगर १४ का लक्ष्मीकान्त विश्वासविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै विराटनगर २ प्रविण जैनका विरुद्ध दुई वटा उजुरी दर्ता भएको छ ।
प्रशासन कार्यालयकाअनुसार विराटनगर ८ का श्यामकुमार यादव, विराटनगर १३ का राजकुमार शर्मा धवानी, विराटनगर ७ का सञ्जयकुमार करवा विराटनगर ९ का सञ्जयप्रसाद रौनियारले मिटरब्याज लिएर ठगी गरेको उजुरी परेको छ । मिटरब्याजी विराटनगर १७ का दिलिपकुमार ताम्रकार, साविक विराटनगर २१ का बुधनप्रसाद साह तेली र विराटनगर १५ का जितेन्द्रकुमार रजकविरुद्ध उजुरी दर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङकाअनुसार उजुरी आएका मध्ये केही प्रमाणसहित र केही ठाडो निवेदनका रुपमा दर्ता भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सरकारले दिएको समयसीमा सकिएपनि थप उजुरी दर्ता गर्न कुनै बाधा नरहेको बताएका छन् ।
गृह मन्त्रालयले भदौं ५ गतेसम्म उजुरी दर्ता गर्न सार्वजनिक अपिल जारी गरेको थियो । मिटरब्याजीबाट देशभर धेरै नागरिक पीडित बनेको खबर सार्वजनिक भएपछि सरकारले मिटरब्याजी विरुद्ध विशेष कारवाही गर्ने उद्देश्यले उजुरी दर्ता गर्न अपिलनै जारी गरेको हो ।
मोरङमा मिटरब्याजी विरुद्ध ३७ उजुरी दर्ता भएपनि केही चिनिएका मिटरब्याजी विरुद्ध भने उजुरी नपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सामाजिक पहिचान बनाएका कतिपय कारोबारीका विरुद्धमा उजुरी नपर्दा सरकारी कारबाहीबाट बच्नसक्ने तर्फ ध्यान दिँदै जिल्ला प्रशासन कार्यालयले उजुरी दिनका लागि समयसीमाले फरक नपर्ने जनाएको हो ।

