तराईका फाँट यतिबेला हरियो गलैंँचा जस्ता देखिन्छन् । आँखाले भ्याएसम्मका ठाउँमा हुर्किँदै गरेका धानका हरिया बोटले सिंगो वातावरणलाई मोहक पारिदिएको छ । खेतका गह्रा–गह्रामा रहरलाग्दो गरी बढ्दै गरेका धानका गाबा लाग्ने यहीबेलामा सधैं किसानलाई मल अभावको सकस हुने गरेको छ । धान रोप्ने बेलामा मल अभावको सकस ब्यहोर्ने किसानले यो बेला पनि उस्तै समस्या सहनु पर्यो भने उत्पादन घट्ने निश्चित हुन्छ । त्यसैले यो बेला मल अभावको समस्या आउन नदिने उपायमा सरकार लाग्न जरुरी छ ।

अबको दुई साताको समय किसानका लागि महत्वपूर्ण अवधि हो । साउन अन्तिमसम्मै पनि धान रोपाइँ भएका क्षेत्रका धानलाई पनि मलको दोस्रो खेप चाहिने बेला हुन्छ यो अवधिमा । जब खेतीपातीलाई ज्यादै चाहिएको बेला हुन्छ, ठीक त्यही समयमा हामीकहाँ मलको हाहाकार हुने गरेको छ । रोपाइँको सिजनमा यसपटक पनि मल अभावको समस्या उच्च भएको थियो । अब धान गोडेर मल चाहिने बेला सुरु भएको छ । आवश्यकताको यो बेला मल व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

हाम्रो सरकारले विभिन्न बालीहरूका लागि आवश्यक आधारभूत पोषक तत्वका रुपमा रहेको नाइट्रोजन, फोस्फोरस र पोटास तत्व उपलब्ध गराउने रासायनिक मलहरूमा लागत सहभागिताका आधारमा किसानहरूलाई अनुदान उपलब्ध गराउने नीति लिँदै आएको छ । यसै नीति अनुसार सरकारले युरिया, डिएपी र एमओपी मलहरू अनुदानित सुलभ मूल्यमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ । अनुदानमा रासायनिक मल उपलब्ध गराउनको लागि बालीमा मलको महत्व र सरकारको आर्थिक क्षमता समेतका आधारमा वार्षिक रुपमा बजेट वक्तव्य मार्फत निश्चित रकम विनियोजन गर्ने गरेको छ । तर, सरकारले यस्तो कार्यक्रम तय गरे पनि नेपाली किसानले न समयमा मल पाउँछन् न त भनेका बेलामा बिऊविजनकै सहजै उपलब्धता हुन्छ । यसरी सिजनमा किसानले पिरोलिनुपर्ने अवस्थाको अन्त्य कसरी हुन्छ ? यो गम्भीर चासोको विषय हो ।

हरेक वर्ष जब विश्व बजारमा मलको मूल्यमा उतारचढाव आउँछ, नेपालमा मल आपूर्तिमा असहजता उत्पन्न भइहाल्छ । मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारी तहबाट जिम्मा लिए पनि उनीहरुले सहज आपूर्ति गराउन कहिल्यै सकेका छैनन् । मल अभावको यही लामो सिलसिलाले किसानलाई पिरोलेको मात्रै छैन, धान तथा अन्य मुख्य अन्न बालीहरुको उत्पादनमा पनि प्रभाव परिरहेको छ । सरकारले हरेक वर्ष अन्न उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । यद्यपि नीति अनुसारको व्यवहार कार्यान्वयन हुनै सकेको छैन । किसानले समयमा सहजै मल पाउने, सिञ्चाइ सुविधा पाउने, बालीनालीको उपचार प्रक्रिया सहज हुने अवस्थामा मात्रै उत्पादन बढ्न सक्छ । मल अभाव सधैं भइरहने मुलुकले उत्पादन बढाउने योजनाको रटान लगाइरहनु सुहाउँदो विषय होइन ।