विराटनगर । मोरङ क्षेत्र नम्बर ३ उल्लेख्य बामपन्थी जनमत भएको क्षेत्र हो । यो क्षेत्र प्रायः बामपन्थीले जितेका छन् । तर, यसो भन्दै गर्दा काँग्रेसको जनमत पनि उक्त क्षेत्रमा बलियो बनिरहेको छ ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट माओवादी केन्द्रका नेता सावित्रीकुमार काफ्ले विजयी भएका थिए । ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने यहाँबाट काँग्रेसका दिलिप गच्छदार विजयी भए । ०७४ सालमा फेरि बाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल निर्वाचित भए ।
त्यसअघिका निर्वाचनमा भने अहिलेको यो क्षेत्र ५, ३, ४ नम्बर क्षेत्रमा विभाजित गरिएको थियो । धेरैले हालको मोरङ क्षेत्र नम्बर ३ निर्धारण गर्दा बामपन्थी जनमतलाई केन्द्रीत गर्ने गरि निर्धारण गरिएको पनि बताउने गरेका छन् । जसका कारण अन्य क्षेत्रमा बामपन्थी कमजोर हुने आँकलन सहित राज्य पुनसंरचना आयोगमा रहेका तत्कालिन प्रशासक गणेशराज कार्कीले यसो गरेको उनीहरुको तर्क छ । तर, अहिले सो क्षेत्रमा काँग्रेस कमजोर भने देखिँदैन ।
क्षेत्रमा ढकाल र शर्माको उस्तै पकड
२०७४ सालको स्थानीय निर्वाचनमा ल्याएको मत काँग्रेसको भन्दा बामपन्थीको दोब्बर थियो । त्यही सालको संघीय निर्वाचनमा भने फेरि काँग्रेसबाट चुनाव लडेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले झण्डैझण्डै बाजी मारे । स्थानीय तहको दोब्बरमत अन्तरलाई १९ सय मत अन्तरमा घटाउन शर्मा सफल भए । यस्तै सो क्षेत्रकै दुई प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एउटामा काँग्रेसका सूयर्माराज राई विजयी बने । २०७४ सालको निर्वाचनमा काँग्रेसका सुनिल शर्मा सर्वसम्मत उम्मेद्वार थिए । उनले नोबेल मेडिकल कलेजको माध्यमबाट थुप्रै स्वास्थ्य शिविर सञ्चालन गरेर भोट आफूतिर तान्ने रणनीति बनाएका थिए । धेरै हदसम्म उक्त योजना कामयाबी पनि बन्यो ।
आउँदै गरेको निर्वाचनमा पनि उनै शर्मा काँग्रेसका दाबेदार हुन् । पार्टी सभापति शेरबहादुर देउवाले सो क्षेत्र सत्ता गठबन्धनको अर्को कुनै दललाई दिएको खण्डमा बाहेक सुनिल शर्मालाई रोक्ने अर्को तागत उनीसँग देखिँदैन । किनकी अहिले सो क्षेत्रमा सुनिल बाहेक अर्को उम्मेद्वार बनाउँदा एमालेलाई जित्न नसकिने आँकलन काँग्रेस नेताहरुकै छ । शर्माले सो क्षेत्रबाट चुनाव जित्नकै लागि विगत ५ वर्षदेखि नोबेल मेडिकल कलेजको जनशक्ति प्रयोग गर्दै सयौं स्वास्थ्य शिविरहरु संचालन गरेका छन् । आफ्नो क्षेत्रका प्रायः वडामा निःशुल्क एम्बुलेन्स दान गरेका छन् । उनले कतिपय अशक्त बिरामीहरुको नोबेलमा निःशुल्क उपचार पनि गरेका छन् भने भजन किर्तन मण्डली, मठ मन्दिरमा पनि मनग्ये लगानी गरिरहेका छन् । शर्माले मोरङ क्षेत्र नम्बर ३ का बिरामीहरुलाई लक्षित गर्दै नोबेल अस्पतालमा अघोषित हेल्प डेस्क नै बनाएर काम गरिहेका छन् ।
यता, काँग्रेसबाट संस्थापन देउवा पक्षले नेता गोपाल थापालाई अगाडि सार्न खोजिरहेको छ । तर, थापा आफैंले त्यसबारे अहिले आफूले सोच नबनाएको बताउँछन् । ‘मैले अहिले त्यस्तो सोच बनाएको छैन, चुनाव जित्नु पनि पर्छ, उठेर मात्रै हुँदैन, जित्ने गरी हामीले निर्णय गर्छौं,’ थापाले भने । थापाको आशय चुनावमा उठ्ने खालको नभएको कारण सुनिल शर्मा नै त्यस क्षेत्रबाट काँग्रेसले उम्मेद्वार बनाउने पक्कापक्की देखिन्छ छ ।
यता, केपी शर्मा ओलीका अत्यन्तै निकट रहेका भानुभक्त ढकाल अघिल्लो निर्वाचनको समयमा अलोकप्रिय थिए । आफ्नो गृहजिल्ला तेह्रथुममा जित्न नसकेर मोरङ ३ रोजेको र उनी टुरिस्ट उम्मेद्वार भएको व्यापक हल्ला चलेको थियो । तर, अहिले ढकालले निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘यसअघि पार्टी नेतृत्व मेरो पक्षमा भएपनि कार्यकर्ता सबै सन्तुष्ट थिएनन्, तर, यस पटक नेतृत्व पनि मेरो पक्षमा छ र कार्यकर्ता पनि मेरो विकल्प खोज्ने अवस्था देख्दिन ।’ ढकालले भनेको सत्य पनि हो । उनले त्यसबेला उठाएका सुकुमबासीका समस्या ज्यूँका त्यूँ छ । उनले गरेका धेरै प्रतिबद्धताहरु अहिले पनि पुरा हुन बाँकी छ । तर, संगठनात्मक हिसावले ढकालले आफ्नो पकड सो क्षेत्रमा एमालेभित्र दह्रो बनाएका छन् । जनताका गुनासा सुन्ने र फिल्डमा उनी मनग्ये खटेका पनि छन् ।
कतिपयले ढकालको विकल्पमा एमालेका स्थायी समिति सदस्य गुरु बराललाई अगाडि ल्याउने कोशिष भइरहेको पनि बताएका छन् । तर, बरालले अहिलेसम्म उक्त कुरा खुलेर बताउन चाहेका छैनन् । ‘म स्थायी समिति सदस्य हुँ, उम्मेद्वार बन्ने नबन्ने पार्टीका आन्तरिक बैठकहरुमा हुन्छ, बाहिर प्रचार गर्दै हिंड्न मलाई नैतिक हिसावले दिँदैन,’ बराल भन्छन् । यद्यपि मोरङ विराटनगरका स्थायी बासिन्दा बराल सो क्षेत्रमा २०७० सालमाको दोस्रो संविधानसभामा पनि प्रतिस्पर्धा गरेका थिए । तर, उनी काँग्रेसका उम्मेद्वार दिलिप गच्छदारसँग पराजित बनेका थिए । ‘तलका कार्यकर्ताले के भन्छन् भन्ने भन्दा पनि पार्टीको बैठकले कसलाई उम्मेद्वार बनाउने भन्छ त्यही अनुसार हुन्छ,’ कतिपय कार्यकर्ताले त तपाईलाई उम्मेद्वार बन्नुपर्छ भन्दैछन् रे नि भन्ने प्रश्नमा उनी भन्छन् ।
यता, एमाले नेता ढकालले पनि आफू पार्टी बैठकमा आफ्ना कुरा राख्ने बताउँछन् । ‘चुनावमा कुन क्षेत्र रोज्ने कि त्यही क्षेत्र रोज्ने कि भन्ने विषयमा पार्टीकै बैठकमा कुरा राख्छु,’ तपाईले नयाँ क्षेत्र रोज्नुहुन्छ कि पुरानै हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले धेरै कुरा किन गर्नु, हामी भदौभित्रमा उम्मेद्वार फाइनल गरिसक्छौं ।’ यद्यपि ढकालले पार्टी नेता तथा कार्यकर्तासँग पुनः सोही क्षेत्रबाट उम्मेद्वार बन्ने आशय व्यक्त गरिरहेका छन् ।
अन्तरविरोधले शर्मालाई समस्या हुनसक्ने
अघिल्लो निर्वाचनमा शर्मा काँग्रेका उम्मेद्वार थिए । तर, यो पटक शर्मा काँग्रेसको पनि शेखर कोइरालाको पक्षबाट उम्मेद्वार बन्दैछन् । स्थानीय तह निर्वाचन २०७९ मा शर्माले टिकट वितरणमा गरेको हस्तक्षेपको कारण उनीसँग काँग्रेसकै कतिपय स्थानीय नेता असन्तुष्ट छन् ।कोइराला–शर्मा पक्षले सुन्दरहरैंचाका तत्कालिन प्रमुख शिव ढकालको टिकट खोसेर भक्ति प्रसाद सिटौलालाई दिने प्रयास गरेका थिए । तर, ढकालले शेरबहादुर देउवासँग गएर सोझै आफ्ना नाममा टिकट ल्याएका थिए । यद्यपि एमालेसँग ढकाल पराजित बने । आफू पराजित हुनुमा शेखर–सुनिलकै हात रहेको भन्दै ढकालले आगामी निर्वाचनमा असहयोग गर्ने आशङ्का काँग्रेसीहरुमा छ ।
यस्तै कानेपोखरी गाउँपालिकामा पनि कोइराला पक्षले आफ्ना उम्मेद्वारको रुपमा अघि सारेका सञ्जय भट्टराई पराजित बनेका थिए । देउवा पक्षले भने गठबन्धन गरेर चुनाव लड्नुपर्ने बताउँदै आएको थियो । कोइराला पक्ष र विशेष गरी सो क्षेत्रमा सुनिल शर्माले नै देउवा पक्षको सल्लाह बिनै भट्टराईलाई उम्मेद्वार बनाएका थिए । कानेपोखरीका देउवा पक्षको सो समूह शर्मालाई हराउन खुलेरै लाग्ने कतिपय बताउँछन् ।
यस्तै कोइराला पक्षका लागि मोरङमा गठबन्धन सकारात्मक हुने सम्भावना कम देखिन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धन नगरेर पराजित हुनुपरेको रिस माओवादी, जसपा र नेकपा एसले नफेर्लान् भन्न सकिन्न । अहिले पनि कोइराला पक्षले गठबन्धन गर्न नहुने बताउँदै आएको छ । यस्तै अवस्था रहे शर्मालाई असहज हुने देखिन्छ ।
त्यसको तुलनामा ढकाल एमालेबाट सर्वसम्मत उम्मेद्वार बन्ने, अघिल्लो पटक भन्दा स्थानीय स्तरमा भिजेको हुने हुनाले उनी पनि कमजोर नहुने देखिन्छ । स्थानीय निर्वाचन २०७९ मा सो क्षेत्रमा पर्ने कानेपोखरी, बेलबारी, सुन्दरहरैंचाका बहुमत वडामा विजयी बनेको, तीनै पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी बनेको कारण ढकाल र एमालेको मनोबल उच्च छ ।
माओवादी केन्द्रले भने सो क्षेत्रबाट संविधानसभा सदस्य सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य गीता तिम्सिना, नेताहरू लालबहादुर सुस्लिङ मगर, खेम भट्टराई, तिलक राई र विनिता घिमिरेलगायतको चर्चा छ । यद्यपि माओवादी केन्द्रका नेताहरुले आफ्नो पार्टीले एउटा मात्र प्रदेशसभा पाउने भएकोले धेरै आकांक्षीले चुनाव लडिहाल्ने मनस्थिति नबनाएको बताइएको छ ।
स्थानीय निर्वाचन २०७९ को परिणाम
स्थानीय निर्वाचनमा भने नेकपा मोरङ क्षेत्र नम्बर ३ मा रहेका २६ वटा वडामध्ये १४ वटामा विजयी भएको छ । एमालेले सुन्दरहरैंचा नगरपालिकाको ६ वडामध्ये ४, पथरी शनिश्चरे नगरपालिकाको ८ वडामध्ये ५, कानेपोखरीको ४ मध्ये ३ र बेलबारी नगरपालिकाको ८ वडामध्ये २ वडा जितेको छ । यस्तै नेपाली काँग्रेले भने सुन्दरहरैंचामा २, पथरीशनिश्चरेमा ३, कानेपोखरीमा १ र बेलबारीमा ५ वडा गरी जम्मा ११ वडा जितेको छ । बेलबारीको एउटा वडा भने स्वतन्त्र विजयी भएका छन् ।
सो क्षेत्रमा स्थानीय तहमा आएको वडाअध्यक्षको मत अनुसार गठबन्धन दललाई यसपटक केही आराम हुने देखिन्छ भने त्यसको तुलनामा एमालेलाई जित निकाल्न सकस पर्ने देखिन्छ । सो क्षेत्रमा गठबन्धन दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मिल्दा ४६ हजार ६०७ मत पुग्छ । एमालेको भने ३७ हजार ४१० मत रहेको छ । एकल लड्दा काँग्रस भन्दा केही समय मतले मात्रै एमाले देखिन्छ । काँग्रेस एक्लैको मत सो क्षेत्रमा ३६ हजार ९१६ रहेको छ । माओवादी केन्द्रको ७ हजार ३३७ हुँदा नेकपा एस र समाजवादीको मत निक्कै २ हजार क्रस गरेको छैन ।
२०७४ सालको निर्वाचनको परिणाम
मोरङ क्षेत्र नम्बर ३ मा यसअघि बाम गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एमालेका नेता भानुभक्त ढकालले ४२ हजार ४१३ मत ल्याएर विजयी बनेका थिए । उनलाई काँग्रेसका उम्मेद्वार सुनिलकुमार शर्माले ४० हजार ५०६ मतका साथ टक्कर दिएका थिए ।
यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेश क मा काँग्रेसका सूयर्माराज राईले २० हजार २९९ मत ल्याउँदा बाम गठबन्धनबाट उम्मेद्वार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ गीता तिम्सिनाले १९ हजार ३९९ मत ल्याएर दोस्रो बनेकी थिइन् ।
यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेश ख मा भने बाम गठबन्धनकै एमालेबाट उम्मेद्वार बनेको राजकुमार ओझाले २२ हजार ८२० मत ल्याएर विजयी बने । उनलाई काँग्रेसका ललित श्रेष्ठले २० हजार २८७ मतका साथ कडा टक्कर दिएका थिए ।

