विराटनगर । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदी पुर्पक्षको लागि जेल चलान भएका छन् ।
मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले सोमबार उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका हुन् ।अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरू विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो ।
मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।
शुक्रवार र शनिवार सार्वजनिक बिदा भएकोले आइतबार बयान र थुनछेक बहस भएको थियो । आइतबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरूको बहस नसकिएपछि सोमबार मात्र सकिएको थियो । वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले बहस सकेपछि अदालतले आदेश गरेको हो ।
विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । पीडित युवती सोही कलेजमा अध्ययनरत इटहरी उपमहानगरपालिका–८ की १९ वर्षीय छात्रा हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको जनाएको छ ।अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथ स्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।
युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । तर, अनुसन्धान प्रतिवेदनमा भिडिओ नभेटिएको भन्दै प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो।

