लोड हुँदैछ...

मेनु

सुगम इलामको दुर्गम फाकफोकथुम

सुगम इलामको दुर्गम फाकफोकथुम

इलाम । इलामलाई सुगम जिल्ला भनेर चिनिन्छ । इलाम भन्नेवित्तिकै सबैको मन आनन्दित हुने गर्दछ । इलाम पर्यटकीय दृष्टिमा मात्र राम्रो होइन, राजनीतिक रुपमा पनि कहलिएको जिल्ला हो । जुन जिल्लाबाट चुनाव जितेका नेता देशको उच्च ओहदामा पुगेका छन् ।

जिल्लाबाट जितेका नेता प्रधानमन्त्री पनि भए । दुई पटकसम्म सभामुख पनि भए । त्यसैले पनि जिल्लालाई दुर्गम भन्दा धेरैले पत्याउँदैनन । तर, इलामको पश्चिमी क्षेत्रमा अवस्थित फाकफोकथुम गाउँपालिका अहिले पनि अति दुर्गम छ । जहाँ वर्खाको समयमा यातायात पुग्न सक्दैन ।
अहिलेसम्म न त सबैले सरकारी विजुली देख्न पाएका छन्, न त खोलामा बनेको पक्की पुल नै । कालोपत्रे सडकको त कल्पनै नगरौ । जुन ठाउँले पटक–पटक निर्वाचनमा देश चलाउने नेता जिताएर पनि दुःख भोगिरहेका छन्, त्यहाँका जनता । त्यही क्षेत्रबाट २५ वर्षदेखि निर्वाचन जितिरहेका छन्, सुवासचन्द्र नेम्बाङ । उनले निर्वाचन मात्र जितेनन् दुईपटक सभामुख भएर संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेम्बाङको क्षेत्रमै पर्ने फाकफोकथुम विकासमा धेरै पछि परेको छ । गाउँपालिको विकासको बाधक सडक बनेको छ । जुन पालिकाको काबुभन्दा बाहिरका सडक परेको कारण पालिकाको विकासमा सडक बाधक बन्न पुगेको हो । फाकफोकथुम गाउँपालिका यस्तो पालिका हो, जुन कालोपत्रे सडक सञ्जालमा पुग्न अन्य पालिका भएर मात्र जानुपर्छ ।

कृषि उत्पादन मुख्य आम्दानीको श्रोत भएको फाकफोकथुम हिउँदको समयमा अन्य ठाउँमा कृषिजन्य उत्पादन बजार पुर्याएपनि बर्खाको समयमा बोटमै कुहिएर जानु बाहेकको विकल्प छैन । न त त्यहाँ उद्योग सञ्चालनको अवस्थै छ । सरकारी विद्युत् सबै ठाउँमा पुग्न नसक्दा अझ समस्या रहेको छ । बाहिरबाट हेर्दा उज्याले देखिएपनि त्यहाँको अवस्था अर्र्कै छ ।

आफूले जिताएका नेताबाट गाउँमा विजुली बल्ने आस नपाएपछि त्यहाँका जनताले आफै लगानी गरेर गाउँ उज्यालो बनाए । जसका लागि चार वर्षसम्म श्रमदान र प्रतिघर ४० हजार लगानीमा गाउँ उज्यालो बनाए । फाकफोकथुममा सरकारी बिजुलीको बल्ब अहिले पनि पुगेको छैन । गत वर्ष प्रसारण लाइन राँकेबाट फाकफोकथुम हुँदै पाँचथरको रविसम्म पुग्यो । एकतप्पाको केही भागमा र आमचोक, फुएतप्पाको माथिल्लो भाग छुँदै रवि पुगे पनि सबै क्षेत्रमा अहिलेसम्म सरकारी लाइन देखिँदैन ।

पछिल्लो १० वर्षमा फाकफोकथुम गाउँपालिकामा गाउँपालिका कुनै विकास हुन नसकेको नेकपा एमाले प्रचार विभाग सचिव खेमसागर खनाल बताउँछन् । ‘राँके रबी बाटो धान खेती गर्ने अवस्थामा छ भने खोलामा पुल छैन । लगाएका होम पाइप पनि बाढीले बगायो, गाउँपालिकाको ६ र ७ नं. मा विजुली पुगेको भए पनि अन्य ठाउँमा टुकीको भरमा छन्, शैक्षिक क्षेत्र पिडादायक छ भने स्वास्थ्यको अवस्था झन् पिडादायक रहेको छ’ उनी भन्छन् । विकट भएकै कारण गाउँपालिकामा कर्मचारी जान पनि मान्दैनन् ।

फाकफोकथुम गाउँपालिका क्षेत्रमा छ वटा खोला रहेका छ । तर, कुनैपनि खोलामा पक्की पुल बनेको छैन । गाउँपालिकाले खोला तर्न केही सहज हुन्छ कि भनेर खोलामा हेमपाईप लगाएपनि वर्खाको बाढीले बगाएपछि पहिलेकै अवस्थामा पुगेको छ ।

फाकफोकथुम गाउँपालिका पुग्नु मुख्य सडक भनेको इलाम र पाँचथरको सिमानामा रहेको राँके रवी सडक हो । जहाँ बर्खामा पैदल हिँड्न पनि सकिन्न । प्रधानमन्त्री हुँदा केपी ओलीले शिलान्यास गरेको सडक अलपत्र छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।