विराटनगर । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर २ मा चुनावी चर्चा बढेको छ । वामपन्थी दलहरुले चुनावको आन्तरिक तयारी थालिसकेका छन् । तर ०७४ सालमा विजयी बनेको नेपाली काँग्रेसका भने दुई जना केन्द्रीय नेताले सोही क्षेत्र रोजेकाकारण बहस झनै तीब्र बनेको छ । यहीकारण कतिपयले भन्ने गरेका छन्, ‘मोरङमा काँग्रेस टकराएको नै २ नम्बर क्षेत्रमा हो ।’

२०७४ सालमा नेपाली काँग्रेसका मिनेन्द्र रिजालले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट संयुक्त उम्मेद्वार बनेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । काँग्रेसले देशैभरीबाट अत्यन्तै कम र मोरङका ६ मध्ये ५ क्षेत्रमा पराजय व्यहोरेको बेला रिजालले सो क्षेत्रबाट अप्रत्याशित जित निकालेका थिए ।

उनले ३५ हजार ८१९ मत ल्याउँदा एमाले नेता पोखरेलले ३४ हजार १४ मत पाएका थिए । सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा नेपाली काँग्रेसका शिवनारायण गनगाई विजयी हुँदा बाम गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका नेता गणेशप्रसाद उप्रेती पराजित भएका थिए । गनगाईले १६ हजार ४१८ मत ल्याउँदा उप्रेतीले १५ हजार १०७ मत पाएका थिए । यस्तै प्रदेशको निर्वाचन क्षेत्र ख मा वाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी १८ हजार ३८६ मतल्याएर विजयीबनेका थिए । त्यस क्षेत्रमा नेपाली काँग्रेसका घणिन्द्रबहादुर कुँबरले १७ हजार १२७ मत मात्र ल्याउन सफल भए ।

अब आउने निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल, सुजाता कोइराला, माओवादी नेता गणेश उप्रेतीलगायतले उम्मेदवारी दिनका लागि पहल बढाएका छन् । नेकपा एमालेबाट भने ऋषिकेश पोखरेल एक्लो दौडमा रहेका छन् ।

स्थानीय तहमा काँग्रेसको मत घट्यो

अघिल्लो पटक वामपन्थीहरुको दबदबा रहेको समयमा कठिन जित निकालेका काँग्रेस नेता रिजाल वा अर्का आकांक्षी सुुजता कोइरालालाई स्थानीय तहको मतपरिणामका आधारमा जित निकाल्न त्यतिनै कठिन हुने देखिन्छ ।

०७४ सालमा क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई नगरपालिकामा काँग्रेसबाट प्रमुखमा रविन राई बहुमत वडाध्यक्षसहित विजयी बनेका थिए । यस्तै सुनवर्षीमा पनि काँग्रेसका कालीप्रसाद दास बहुमतका साथ बिजयी भएका थिए ।

यस्तै सोही क्षेत्रमा पर्ने रंगेली नगरपालिकाको ५ वटा वडा र कानेपोखरी गाउँपालिकाको ३ वटा वडामा काँग्रेसले उल्लेख्य वडा जितेको थियो ।
यस पटकको स्थानीय निर्वाचनमा विभाजित बनेको एमालेसामु काँग्रेसले अघिल्लो पटकको स्थानीय निर्वाचनको साख जोगाउन सकेन । २०७९ सालको स्थानीय निर्वाचनमा माओवादीको सहयोगमा रतुवामाई प्रमुखमा काँग्रेसले जिते पनि उपप्रमुख सहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । बरु एउटै वडा नजितेको माओवादीले एउटा वडा जित्न सफलभएको छ ।

यस्तै अघिल्लो पटक काँग्रेसले प्रमुख, उपप्रमुख सहित बहुमत वडा जितेको सुनवर्षी नगरपालिकामा यसपटक भने एमालेले प्रमुख, उपप्रमुखमात्रै जितेको छैन बहुमत वडा पनिजितेको छ । सोही क्षेत्रमा पर्ने कानेपोखरीमा पनि एमालेले जितेको छ । रंगेलीको ५ वटा वडा नै एमालेले जितेको छ ।

सो क्षेत्रमा समग्र वडाध्यक्षको मतमा पनि एमाले ठूलो छ । एमालेको ३१ हजार ३४० मत आएको छ भने काँग्रेसको २८ हजार ६१४ मत रहेको छ । सो क्षेत्रमा माओवादी केन्द्रको ७ हजार २७१ र जसपाको मत ४ हजार ३४६ रहेको छ । सत्ता गठबन्धन दल मिलेको खण्डमा ४० हजार २३१ मत हुन्छ ।

गठबन्धन नमिलाए काँग्रेसलाई कठिन

सत्ता गठबन्धन दलहरु निर्वाचनमा मिलेर जाने घोषणा गरिरहँदा काँग्रेस भित्रकै टिकट खोसाखोसले मोरङको २ नम्बर क्षेत्र प्रभावित बन्ने देखिन्छ । सुजाता कोइरालाले आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको लिगेसीको दाबी गरिरहँदा दुबै पक्षका कार्यकर्ता टिकटको लबिइङमा छन् ।

काँग्रेसले गठबन्धन दल माओवादी केन्द्रलाई मिलाउन नसकेको खण्डमा जुनसुकै उम्मेद्वारलाई पनि गाह्रो हुने विश्लेषण सुरु भएको छ । काँग्रेसले यस पटक पनि सुनवर्षी जित्ने अवस्था थियो । तर, टिकट वितरणमा भएको असन्तुष्टीले पराजित भएको बताइन्छ ।
संघमा जित्नका लागि २ (ख) मा पनि आफ्नो उम्मेद्वार उठाउनु पर्ने आवश्यकता काँग्रेसलाई रहेको काँग्रेसका कतिपय नेताहरुले बताइरहेका छन् । सो क्षेत्रबाट जितेका सांसद शिवनारायण गनगाईले खासै विकास निर्माणको काम नगरेको भन्दै उनीहरु असन्तुष्ट छन् ।
यस अघि पराजित भएका उम्मेद्वार गणेश उप्रेतीले योजना लगेको पनि स्थानीय बताउँछन् । माओवादी केन्द्र भने आफू जित्ने ठाउँमा मात्रै दाबी गर्ने नजित्ने ठाउँमा बल नगर्ने बताउँदै आएको छ ।

माओवादी केन्द्रले प्रदेश निर्वाचन क्षेत्र २ (ख) मा आफ्नो उम्मेद्वार सशक्त नभएको कारण पनि २(क) मा दाबी गर्ने तयारी गरेको छ । स्थानीय तहमा काँग्रेसले धोका दिएको माओवादी केन्द्रले फेरि पनि काँग्रेसबाट सहयोग होला भन्ने विश्वास भने गरिसकेको छैन । ‘स्थानीय तह निर्वाचनमा हामीलाई धोका भयो, काँग्रेसले भोट नै दिएन,’ माओवादीका एक नेताले भने, ‘खर्चको व्यवस्थापन गर्न नसक्ने अवस्थामा जबर्जस्ती लिएर हार्नुभन्दा जित्ने ठाउँतिर लिए हुन्छ ।’

मोरङमा गठबन्धनलाई विजयी गराउने हो भने केन्द्रको मापदण्ड लागू हुनन सक्ने भन्दै दलहरूले छुट्टा छुट्दै लविइङ पनि गरिरहेका छन् । ‘मोरङको क्षेत्र नम्बर ६ मा एउटा प्रदेश सांसद त माओवादीलाई दिनै पर्छ, ४ नम्बरमा पनि माथिको मापदण्ड लागू नहुन सक्छ,’ काँग्रेसका एक नेताले भने, ‘क्षेत्र नम्बर ३ र ५ मा पनि त्यो मापदण्ड लागू हुन नसक्ने देखिन्छ ।’ त्यसो हुँदा क्षेत्र नम्बर २ (क) माओवादीले पाउन पनि सक्ने उनको भनाइ छ ।

रिजाललाई समानुपातिकमा बस्न आग्रह !

डाक्टर मिनेन्द्र रिजालले अघिल्लो पटक आफूले जितेकै आधारमा सो क्षेत्र गठबन्धनले काँग्रेसलाई दिने मापदण्ड बनाएको बताउँदै अब सो क्षेत्रबाट को उठ्छ भनेर सोधिराख्नु नपर्ने बताए । ‘अघिल्लो पटक वाम गठबन्धनलाई पराजित गरेर मैले जितेकै कारण अहिले पनि सो क्षेत्र काँग्रेसले पाउँदैछ भने पार्टीले मलाई टिकट नदिएर कसलाई दिने त ?,’ उनले भने, ‘सबै साथीहरुको आकांक्षा हुन्छ, दाबी गर्न पाउनु हुन्छ, यसबारे मैले नकारात्मक टिप्पणी गर्दिन ।’ रिजालले आफू नै सो क्षेत्रको उम्मेद्वार रहेको घुमाउरो दाबी गरे ।

यता, काँग्रेस नेतृ सुजाता कोइरालाले आफू सो क्षेत्रबाट यस पटक निर्वाचन लड्ने बताइन् । ‘यसअघि म बिरामीथिएँ र मैले त्यो क्षेत्र मिनेन्द्र जीलाई छोडेको हुँ,’ कोइरालाले भनिन्, ‘अब म ठिक भइसक्या छु, उहाँलाई तपाई समानुपातिकमा बस्नुहोला म चुनाव लड्छु भनिसकेको छु, उहाँले सल्लाह गर्नुपर्छ भन्नुभएको छ, यस पटक त म छोड्दिन ।’ अघिल्लो पटक पनि रिजाललाई आफूले सल्लाहमै छोडेको र अबपनि रिजालले सल्लाहमै छोड्नेमा आफू विश्वस्त रहेको बताइन् ।

नेकपा एमाले मोरङका अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेलले एमालेबाट को उठ्ने भन्ने विषय तलका मतदाताको सर्भेक्षणबाट टुंगो लगाउने बताए । ‘हामीले भदौ मसान्तसम्म उम्मेद्वारीबारे बेही नबोलने भनेका छौं, माथिल्लो तहबाटै उम्मेद्वारी घोषणा गर्दा मतदाता मौन बस्छन्, उम्मेद्वारी घोषणा नगरी हामीले मतदाताबाट प्रतिक्रिया दिइरहेका छौं,’ पोखरेलले भने । एमाले स्रोतकाअनुसार सो क्षेत्रबाट पोखरेलले नै निर्विवाद उम्मेद्वार हुन् । उनलाई टक्कर दिने नेता सो क्षेत्रमा अहिलेसम्म देखिएका छैनन् ।

यता, माओवादी केन्द्रले भने सो क्षेत्रबाट संघमा उम्मेद्वारी दाबी नगर्ने जनाएको छ । सो क्षेत्रका नेता तथा माओवादी १ नम्बर प्रदेशका सचिव गणेश उप्रेतीले आफूहरुको दाबी संघमा नरहेको र प्रदेश ‘क’मा रहने बताए । ‘हाम्रो दाबी प्रदेश ‘क’मा रहन्छ, तर हाम्रो चर्को दाबी छैन, काँग्रेस आफैंले निर्णय गर्ने कुरा हो,’ उनले भने ।