विराटनगर । आर्थिक पत्रकारको क्षमतावृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को पहलमा तालिम सञ्चालन भएको छ ।
दि एशिया फाउण्डेशन र साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्ट (सावती) ले संयुक्त रूपमा महासंघसँँग मिलेर आयोजना गरेको तालिममा ३० जनाको सहभागिता थियो ।
अर्थविद् एवं सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले तालिमको सहजिकरण गरेका थिए । यस्तै कान्तिपुर टेलिभिजन प्रदेश नं. १ का प्रमुख महाप्रसाद खतिवडा पनि सहजकर्ताको भूमिकामा थिए ।
बाह्य क्षेत्रमा हुने व्यापार व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने र यसको प्रभाव धेरै क्षेत्रमा पर्ने भएपनि तथ्याङ्गकलाई राम्ररी नकेलाउँदा यथार्थ कुरा बाहिर नआउने भएकाले यस्ता तालिम आबश्यक हुने सावतीका अध्यक्ष डा. पाण्डेले बताए । सही तथ्याङ्क दिन र नैतिकता र इमान्दारिताका साथ आर्थिक रिपोर्टिङ गर्न उनको सुझाब थियो ।
वार्षिक वृद्धि दर, चक्रवृत्ति वार्षिक वृद्धि दर, ट्रेड डिपेन्डेन्सी इन्डेक्स, इम्पोर्ट पेनिट्रेसन इन्डेक्स, मार्जिनल प्रोपेन्सिटी टु इम्पोर्ट, हिर्चम्यान इन्डेक्स, एक्सपोर्ट ड्राइभर्सिफिकेसन इन्डेक्स, हार्मोनाइज्ड सिस्टम, स्टाण्डर इन्टरनेशनल ट्रेड क्लासिफिकेसन, व्यापार सन्तुलन, वस्तु तथा सेवाको सन्तुलन, चालु खाता सन्तुलन, पूँजीगत खाता सन्तुलन, रिजर्वमा सन्तुलन जस्ता प्राविधिक विषयमा आर्थिक पत्रकारलाई प्रशिक्षण दिइएको थियो । बाह्य क्षेत्रको आर्थिक रिपोर्टिङ गर्दा यस्ता प्राविधिक कुराको विश्लेषण गर्न नसक्दा सही कुरा नआउने भन्दै डा.पाण्डेले प्राविधिक विषयको विश्लेषण गरेर समाचार बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालले देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिने उद्योगी व्यवसायिहरुले अहिले धेरै समस्या भोगीरहनु परेको आर्थिक पत्रकारीताले त्यसलाई उजागर गरि सहजीकरणको भूमिका खेल्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश नं १ मुख्यमन्त्रीमा आर्थिक सल्लाहकार राजेन्द्र राउतले आर्थिक पत्रकारितामा तथ्य, तथ्यांक विश्लेषण गर्दा तथ्यमा आधारित हुनुपर्ने र आर्थिक क्षेत्रको उन्नतिको लागि सबै क्षेत्रको सहकार्य हुन आवश्यक रहेकोमा जोड दिए ।
रिपोर्टिङ तालिम कार्यक्रमले प्रदेश नं १ का आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गरि सहकार्य लाई अझ बढाएको महासंघका कार्यकारी प्रमुख राधारमण भण्डारी (श्याम)ले जानकारी दिएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।