विराटनगर । विराटनगरका सहकारी संचालकले मनोमानी ढंगले रकम चलाउने र कार्यक्षेत्र बाहिरका क्षेत्रमा लगानी गरेको कारणले बचतकर्ताहरूको करोडौं निक्षेप जोखिममा परेको छ ।
अनेकौं बेथितिबाट गुज्रेको सहकारीले आफ्नो क्षेत्रअधिकार भन्दा बाहिर गएर सहकारी ऐन अनुसार काम कारवाही नगर्दा विराटनगरका दुई दर्जनभन्दा बढी सहकारीमा बचतकर्ताको निक्षेप जोखिममा परेको छ ।
सहकारी ऐन अनुसार विराटनगरका १० सहकारी संचालनमा नरहेको पाइएपछि कारवाही गरिएको विराटनगर महानगरपालिका सहकारी शाखाकी अधिकृत पृथ्वीकुमारी बस्नेतले जानकारी दिइन् । विराटनगर भित्र १९३ सहकारी स्वीकृति लिएर संचालनमा छन् । सहकारी शाखाकी अधिकृत बस्नेतको नेतृत्वमा आर्थिक वर्ष २०७८/०७९ मा ७७ वटा सहकारी अनुगमन गर्दा ९ वटा सहकारीले सहकारी ऐन अनुसार संचालन नगरेको पाइएपछि कारवाही गर्ने निर्णय भएको हो ।
कारवाहीमा पर्ने सहकारीहरूमा विराटनगर १ पोखरियामा रहेको अनोमल बचत तथा ऋण सहकारी, विराटनगर ७ हस्पिटल चोकमा रहेको सुमेरु बचत तथा ऋण सहकारी, विराटनगर ११ मानुषी बचत तथा ऋण सहकारी संस्था, विराटनगर ९ मा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थालाई कारवाही गर्ने निर्णय महानगरले गरेको हो ।
यस्तै विराटनगर ११ महेन्द्रचोकस्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी, विराटनगर ९ घोघापुल चोकमा रहेको नारायण बचत तथा ऋण सहकारी संस्था, विराटनगर २ मा रहेको युनिक सहकारी संस्था, विराटनगर ८ मा रहेको स्वागतम बचत तथा ऋण सहकारी संस्थालाई कारवाही गर्ने निर्णय गरेको छ ।
कारवाहीमा पर्ने सहकारीमध्ये अनोमलले गैर कार्यक्षेत्रमा कारोबार गरेको कसुरमा कारवाहीको दायरामा आएको हो । अनमोलले सहकारी एनेको मूल्य मान्यताको धज्जी उडाउँदै किर्ते कार्यक्षेत्र परिवर्तन गरि नियमनकारी निकायलाई पनि बेवास्ता गर्दै पूर्व स्वीकृति बेगर गैर कार्यक्षेत्रमा कारोवार गरेको अनुगमनको क्रममा पाइएपछि ५३ हजार रुपैयाँ जरिवाना गरेको छ ।
अनमोललाई १ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । १ लाख रूपैयाँ जरिवाना तिर्न नसक्ने भनेपछि गत वैशाख १३ गतेको महानगरको निर्णयले ५३ हजार रुपैयाँ जरिवाना गराएको छ । महानगरपालिकाले जरिवाना रकम छुट्याएर ५३ हजार तोकेको चार महिना बितिसक्दा पनि अनमोलले तिर्न ढिलासुस्ती गरेको छ । कारवाहीको पत्र पनि नबुझी अनमोल सहकारी बसेको छ ।
यस्तै बचतकर्ताको निपेक्ष रकम नदिई बसेको विराटनगरको सिद्धार्थ सहकारीले गैर सदस्यसँग कारोवार गरेको पाइएको छ । सिद्धार्थले साधरणसभा नगरी महानगरपालिकामा लेखा परीक्षण प्रतिवेदन नबुझाएको, सेवा शुल्क तोकिएभन्दा बढी लिएको र गैर सदस्यसँग कारोबार गरेको अनुगमनको क्रममा भेटिएको सहकारी शाखाकी अधिकृत बस्नेतले जानकारी दिइन् ।
‘सिद्धार्थ सहकारीले सहकारीको मूल्य मान्यताभन्दा माथि उठेर गैर कानुनी ढंङ्गले काम गरेको पाइयो,’ उनले भनिन्, ‘एक ठाउँमा स्वीकृति लिएर संचालन गरेको सहकारीले सेवा केन्द्र भन्दै अन्यन्त्र जिल्लामा गएर संचालन गर्न पाइँदैन । तर, सिद्धार्थले नवलपरासीमा गएर सेवा केन्द्र खोलेको पाइयो ।’
यसरी सहकारी ऐन अनुसार काम कारवाही नगरेको पाइएपछि अनमोल सहकारीलाई ९ हजार रूपैयाँ जरिवाना लिने निर्णाय गरेको छ । यो सहकारीले विराटनगरको दुई दर्जन बचतकर्ताको निपेक्ष रकम दिन झुलाइ रहेको छ ।
कारवाहीमा परेकामध्ये नारायण आगमन, मानुषी र दैनिक बचत तथा ऋण सहकारी संस्थाले महानगरपालिकाले तोकेको जरिवाना रकम तिरेको छ । ६ वटा सरकारीले जरिवाना तोकेको रकम तिर्न अटेरी गरेर बसेका छन् ।
अनुगमनको क्रममा दर्ता स्वीकृति लिएर बसेका मध्ये १९ वटा सहकारीको कार्यालय नभेटिएको र ती कार्यालयहरू अहिलेसम्म महानगरपालिकाको सम्पर्कमा पनि नआएको शाखा अधिकृत बस्नेतले बताइन् । यसरी सम्पर्कमा नआएका सहकारीहरूमा सक्रिय, परिचय, सगुन, पुष्पाञ्जली, विराट उपभोक्ता, सहयोगी, भिजन, उत्तम ओमसाइ, सवल, बहुमुल्य कृषि, प्रभावकारी, इच्छा, नेशनल, बाटिका र उपकार बचत तथा ऋण सहकारी छन् । ‘यी सहकारीहरूको लिस्ट बोकेर विराटनगर फन्को लगाइसकिएको छ अहिलेसम्म कार्यालय र उनीहरूसँग सम्पर्क हुन सकेको छैन,’ सहकारी शाखाकी अधिकृत बस्नेतले भनिन्, ‘ यी सहकारीको अवस्थाबारेमा पनि केही जानकारी छैन ।’
आर्थिक वर्षको पुस मसान्तसम्ममा सहकारीले साधरणसभा सम्पन्न गरेर लेखा परीक्षण गरेको प्रतिवेदन महानगरको सहकारी शाखामा बुझाइसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, यहाँ दर्ता भएका आधा सहकारीले लेखा परीक्षण प्रतिवेदन नबुझाउने गरेको पाइएको छ । लेखा परीक्षण प्रतिवेदनबाट सहकारीको अवस्था के रहेको छ त्यस बारेमा जानकारी हुने गर्दछ । आर्थिक वर्ष २०७८÷ ०७९ मा ८९ वटा सहकारीले मात्र लेखा प्रतिवेदन परीक्षण रिपोर्ट बुझाएका छन् ।

