लोड हुँदैछ...

मेनु

बेलका नगरपालिकाले थाल्यो सप्तकोसी कटान क्षेत्रमा ढुङ्गाको तारजाली लगाउन

बेलका नगरपालिकाले थाल्यो सप्तकोसी कटान क्षेत्रमा ढुङ्गाको तारजाली लगाउन

विराटनगर । उदयपुरको बेलका नगरपालिकाले सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको डुम्री बोटेमा तटबन्ध निर्माण सुरु गरेको छ ।
झन्डै एक किलोमिटर क्षेत्रमा कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको हो ।केही दिनअघि मात्र बाढीले नगरको डुम्री बोट बाट कटान गरी वडा नं २ ,३ र ८ मा बाढी पसेको थियो ।

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार सो निर्माणका लागि प्राविधिकहरूको सल्लाहअनुसार ढुङ्गा सङ्कलन र तार जाली जस्ता सामग्री जुटाउने र उपलब्ध गराउने काम भइरहेको छ । विगतमा बोरामा बालुवा बाँधेर निर्माण गरेको तटबन्ध नदीले भत्काएकाले अब ढुङ्गाको पर्खाल र तारजाली लगाउन सुरु गरिएको उनले बताए ।

तत्काल फेरि पनि विपत्ति आउन सक्ने हुनाले नगरपालिकाको अन्य विकासको बजेट कटौती गरेर झन्डै तीन करोडभन्दा बढी रकम नगरको वडा नं १ ३ र ८ को नदी कटान नियन्त्रणमा लगाउने जनाइएको छ । यसका लागि सङ्घीय सरकार जलस्रोत मन्त्रालय र प्रदेश सरकारसँग सहयोगे माग गरिएको प्रमुख कार्कीले बताए ।

स्थायी तटबन्धन पहल गरे पनि यो कार्य केही वर्ष ढिला हुन सक्ने हुनाले तत्काल नै केही वडामा कोसी कटानको उच्च जोखिमबाट बचाउन नगरपालिकाको पहल र सक्रियतामा नै तटबन्ध बनाउन लागिएको बताइएको छ । केही दिनअघि बेलकाको कोसी क्षेत्र आसपासमा बाढी आउँदा झन्डै दुई हजार पाँच सयभन्दा बढी जनता अस्थायीरुपमा विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।