संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण प्रभावित क्षेत्रको मुआब्जा दर तोकिएको छ ।
अपर अरुण जलविद्युत आयोजनाले प्रभावित क्षेत्र भोटखोला गाउँपालिका वडा नम्र २, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरिएको हो ।
अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण कार्य अघि बढेको छ । १ हजार ६१ मेगावाट जलविद्युत उत्पादन क्षमताको आयोजनाको लागि उत्तर–दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया ६ को प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ ।
कोशी राजमार्गले छोएको तर बस्ती नभएका हटिया ६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको को बैठकले मूल्य निर्धारण गरेको हो । त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलैंची बाली सहितको जग्गा ९ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैंची बाली नभएको पाखा बारीको ७ लाख रुपैयाँ मूल्य कायम गरिएको छ ।
जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यस्था छ । अपर अरुण जलविद्युत् आयोजना निर्माणको लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । जलविद्युत् आयोजनाको लागि भोटखोलामा २५ सय रोपनी जग्गा अधिग्रहण गरिँदैछ ।
आयोजनामा २ खर्बको लगानी
आयोजना निर्माणको कार्य २ वर्ष पछिबाट सुरु हुने भएको छ । आयोजना सम्पूर्ण संरचनाहरू भोटखोलाको वडा नम्बर २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले जलविद्युत् आयोजना बनाउन लागेको हो ।
जल विद्युत् आयोजनाको अनुमानित लागत २ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्नेछ ।
सन् २०२४ को मध्य भागबाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गर्ने लक्ष्य छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।