विराटनगर । तेस्रो मुलुकबाट आयत भएको सुपारीलाई नेपाली उत्पादन भन्दै भारत लैजाने क्रममा प्रहरीले बरामद गरेको आठ ट्रक सुपारी अदालतमा मुद्दा परेपछि जारी भएको म्याद सूचना भन्सार विभागले बुझन इन्कार गरेको छ । विपक्षी भन्सार विभागले म्याद तामेली नबुझेको कारण मङ्गलवारको लागि उच्च अदालत विराटनगरले तोकेको पेसी स्थगित भएको हो ।
पेशी स्थगित भएपछि उच्च अदालत विराटनगरका न्यायाधीश दोय राम बहादुर थापा र मिलन कुमार राईको संयुक्त इजालाशले अन्तरिम आदेशको छलफल २ भदौको लागि तोक्ने आदेश गरेको रजिस्टार जितेन्द्र बाबु थपलियाले जानकारी दिए ।
म्याद बुझ्न इन्कार गरेका भन्सार विभाग प्रमुखलाई म्याद तामेलीमा बाधा अवरोध गरे कानुनअनुसार कारबाही गरिनेसमेत आदेशमा उल्लेख छ । ‘विपक्षीले अदालतबाट जारी भएको म्याद सूचना बुझिलिन इन्कार गरेउपर यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ,’ उच्च अदालतको आदेशमा भनिएको छ,’ ‘यसरी अदालतबाट जारी भएको म्याद सूचना बुझिलिन इन्कार गरेमा वा म्याद सूचना तामेलीमा बाधा अवरोध खडा गरेमा कानुनबमोजिम कारबाही हुन सक्ने ब्यहोरा भन्सार विभाग प्रमुखलाई ध्यानाकर्षणसमेत गराई रितपूर्वक म्याद तामेली गरी नियमानुसार पेस गर्नू भनिएको छ ।’
यसअघि उच्च अदालत विराटनगरका न्यायाधीश मिलन कुमार राईको एकल इजालाशले आइतबार पक्ष र विपक्ष दुवैलाई आगामी मङ्गलवार ९साउन ३१ गते० छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो ।
८ ट्रक सुपारीका निर्यातकर्ता विराटनगर–९ को मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले गत बिहीबार उत्प्रेषण परमादेश प्रतिषेध माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।
सुपारी कारोबारी दीपक पोखरेलको समूहले सरकारी कोटा प्राप्त गरी इन्डोनेसियाबाट आयात गरेको सुपारीलाई नेपालमा उत्पादन गरिएको भन्ने झुटो कागजात तयार गरेर भारत निर्यात गरिरहेका बेला ८ साउनमा मोरङ प्रहरीले ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी लोड भएको ८ वटा ट्रक प्रहरीले रानीबाट नियन्त्रणमा लिएको थियो ।
राजस्व अनुसन्धान विभागले आफ्ना निकायका कार्यालयले भारतीय भन्सारले लगाएको सिलबन्दीलाई खोल्न नसक्ने बताउँदै आएको छ । त्यही भएर निर्यात गर्न लागिएको सुपारी अहिले राजस्व अनुसन्धान कार्यालय इटहरीको परिसरमै थन्किएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।