विराटनगर । अनेकौं बेथितिबाट गुज्रेको सहकारी क्षेत्रमा पछिल्लो समय अनियमितताका त्यस्ता घटना बढ्न थालेका छन् । सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको हो ।
संचालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो । जसले गर्दा एकपछि अर्को सहकारी संस्थामा निक्षेपकर्ताको रकम जोखिममा पर्न थालेको छ । विराटनगरका आधा दर्जन सहकारीमा बचत र फिक्स डिपोजिट गरेको निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा परेको छ ।
निक्षेपकर्ताको रूपैयाँ विराटनगरको महेन्द्रचोकमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थामा पनि जोखिममा पर्ने देखिएको छ । सिद्धार्थ सहकारीले बचत र फिक्स डिपोजिट गरेको निक्षेपकर्ताहरूको अवधि पुरा हुँदा पनि जम्मा गरेको रकम नपाएपछि प्रहरी गुहारेका छन् ।
दुई दर्जनभन्दा बढी निपेक्षकर्ताहरूले सिद्धार्थ सहकारीमा जम्मा गरेको साँवा र ब्याजसहित रकम फिर्ताको माग गर्दै मोरङ प्रहरीमा आइतबार पुगेका हुन् । नियमित बचत गर्दै आएको रकम दिन सिद्धार्थ सहकारीले आलटाल गर्दै आएको विराटनगर ८ का मुन्ना रौनियारले बताए । उनले सिद्धार्थमा १८ प्रतिशत ब्याजदर पाउने लोभमा तीन लाख रूपैयाँ एक वर्षको लागि जम्मा गरेका थिए । विराटनगरमा मोवाइल पसल रहेका रौनियारले फिक्स डिपोजिट बाहेक दैनिक बचत पनि गर्दै आएका थिए । फिक्स डिपोजिट र दैनिक बचत गरी उनले सिद्धार्थ सहकारीमा जम्मा गरेको पाँच लाख पुगेको छ ।
अहिले निक्षेप गरेको रकम माग्न जाँदा सहकारीले झुलाउने गरेको उनले बताए । ‘मेरो फिक्स डिपोजिट गरेको रकम र दैनिक बचत गरेको रकम माग्न गएको हप्ता दिनभन्दा बढी भयो । तर, सहकारीले भाखा मात्र दिने गर्दछ । पैसा दिँदैन,’ उनले भने, ‘आफूले जम्मा गरेको रकम नपाएपछि अहिले प्रहरीको सहारा लिनुपर्ने अवस्था आएको छ ।’
दुःख गरेर आर्जेको रकम झिक्न जाँदा सहकारीले झुलाउने गरेको उनले बताए । ‘खाइ नखाइ दुःख गरेर आर्जेको रकम जम्मा गरेको वर्ष दिनभयो । आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारीले झुलाइरहेको छ । कहिले महिना दिन पछि आउनु, कहिले अर्को महिना आउनु भन्दै सहकारीमा आफूले जम्मा गरेको रकम झिक्न आएको हप्तौ बितिसक्यो । अहिलेसम्म आफुले बचत गरेको रकम सहकारीले दिन आलटाल गर्दै आएको छ,’ उनले भने, ‘आफ्रले जम्मा गरेको रकम झिक्ने भन्दै सहकारी धाएको सयौंपटक भइसक्यो । तर, सहकारीले अर्को पटक आउनु भन्दै झुलाउने गरेको छ । कस्तो दिन आयो । आफ्नै पैसा लिन पनि यस्तो सास्ती पाउनुपर्ने ! ’
यसरी सिद्धार्थ सहकारीमा बचत गरेको रकम झिक्न आउँदा आलटाल गर्दै झुलाउने गरेको मुन्नालाई मात्र होइन यस सहकारीमा दैनिक सयौंका संख्यामा निक्षेपकर्ताहरु आउने गरेका छन् । यस सहकारीमा पाँच हजार रुपैयाँदेखि १५ लाख रुपैयाँभन्दा बढी सदस्यले आफूले निक्षेप गरेको रकम झिक्न आउने गरेका छन् । तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ ।
विराटनगर ११ का सुमित साहले पनि दैनिक बचत गरेको ७५ हजार रुपैयाँ सिद्धार्थ सहकारी नदिएको बताए । ‘दैनिक ५ सय देखि १ हजार रुपैयाँसम्म सहकारीमा बचत गर्दै आएको थिएँ,’ उनले भने, ‘अहिले आएर आफूले बचत गरेको पैसा लिन जाँदा दिने गरेको छैन ।’ जम्मा गरेको रकम नपाएपछि बाध्य भएर प्रहरीमा उजुरी दिने तयारी गरेको उनले सुनाए ।
सिद्धार्थ सहकारीले निक्षेपकर्ताको रकम नदिएपछि दुई दर्जनभन्दा बढी सदस्य मोरङ प्रहरीमा पुगेका थिए । रकम नपाएको प्रहरीलाई जानकारी गराएपछि सिद्धार्थ सहकारीका प्रबन्धक उज्जवल प्रधानलाई नियन्त्रणमा लिएको थियो । संचालकहरूले निपेक्षपकर्ताको रकम दिने मौखिक रुपमा आश्वासन दिएपछि प्रहरीले प्रधानलाई सोमबार छोडिदिएको छ । ‘सिद्धार्थ सहकारीले रकम नदिएको भन्दै निक्षेपकर्ताहरू प्रहरीमा आएका हुन्,’ मोरङ प्रहरीका डिएसपी राजन कार्कीले भने, ‘उहाँहरूले जाहेरी नदिएपछि सोधपुछको लागि बोलाएको म्यानेजरलाई छोडिदिएका हौं ।’
यो सहकारीका अध्यक्ष अनिल गौतम हुन् । सहकारीको विषयमा बुझन खोज्दा उनी सम्र्पकमा आएनन् । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले सहकारीले कर्जा व्यवस्थापन गर्न नसक्दा अहिले समस्या आएको बताए । कोभिड १९ पछिको तरलता अभावको कारणले पनि यस्तो समस्या आएको उनले बताए । समस्या समाधानका लागि संघले पहल गरिरहेको उनको भनाइ छ । समस्यामा परेका सहकारीहरुको लागि राष्ट्रिय सहकारी बैंकसँग जिल्ला सहकारी संघले समन्वय गरेर तरलता व्यवस्थापनको लागि पहल गर्दै आएको उनले बताए । समस्या भएको सहकारीलाई तरलताको व्यवस्था गरेर संघले संरक्षण गर्ने काम गरेको उनले बताए ।
विराटनगर महानगरपालिकाका सहकारी शाखा प्रमुख पृथ्वीकुमारी बस्नेतले राष्ट्रिय सहकारी महासंघसँग सहकार्य गरी सहकारीका समस्या समाधान गर्न पहल गरिने बताइन् । ‘समस्याप्रति हामी चिन्तित छौं’,उनले भनिन्, ‘विराटनगर महानगरपालिकाभित्र पर्ने सहकारीको अनुगमन र निरीक्षण गर्ने कामहरु भइरहेको छ ।’ सहकारीमा विकृति रोक्न अनुगमन बढाउने कामहरु भइरहेको उनले बताइन् ।
सहकारी शिक्षा, सचेतना बढाएर समस्या आउन नदिन पहल गरिने उनको भनाइ छ । विराटनगर महानगरबाट स्वीकृति लिएर १९३ वटा सहकारी सञ्चालनमा छन् । महानगरले ७६ वटा अनुगमन गरिसकेको छ ।
नियामक निकाय प्रदेश र स्थानीय सरकारले सहकारीको प्रभावकारी अनुगमन गरेका छैनन् । जसले गर्दा सीमित सञ्चालकले मनोमानी गर्दै आएका छन् । अधिकांश संस्थाले सहकारीका मूल्य–मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तको प्रयोग र पालना नगरी आफूखुसी कारोबार गर्दा सहकारीमा जोखिम बढेको छ ।

