विराटनगर । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर सुविधा लिने ओखलढुङ्गाका एक सव इन्जिनियरविरुद्ध आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा खानेपानी तथा सरसफाइ डिभिजन २ ओखलढुङ्गामा कार्यरत सव इन्जिनियर रामबाबु यादवले सुनसरी टेक्निकल कलेज धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरू नक्कली बनाएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार यादवले लब्धांकपत्र चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्ससमेत नक्कली बनाई सरकारी लाभ वा सुविधा लिएका थिए । उनले खानेपानी कार्यालय ओखलढुङ्गामा २०७६ भाद्र देखि २०७७ असार मसान्तसम्म बहाल रही लाभ सुविधा लिएको देखिएको भन्दै अख्तियारले यादवलाई कैद सजाय र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।