बेलका । बाह्र वर्षमा खोलो फर्कन्छ भन्ने आहान सुन्दै आएका उदयपुर बेलका नगरका बासिन्दाको थातथलोमा सप्तकोशी ३४ वर्षपछि फर्किएको छ ।
२०४५ सालमा कोशीले धार परिवर्तन गरेपछि पसिना र श्रम खर्चेर आवादीयुक्त बनाएको ठाउँमा बुधबार नदीको वहाव आइपुग्दा बेलका नगरका पाँच वटा वडा र सुनसरी बराहक्षेत्रका दुई वटा वडामा तवाही मच्चिएको छ । बेलका १,२,३, ८ र ९ अनि बराहक्षेत्रका ९ र ६ नम्बर वडाका हजारौं बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।
मंगलबार साँझसम्म आँखाले देख्न भ्याए जति ठाउँमा लहलहाउँदो भएर हुर्कँदै गरेको धान खेती देखिन्थ्यो । बुधबार बिहान ती अधिकांश धान खेतमा कोशीको पानी फिँजारिएको छ ।
घरमा बाँधिएका चौपाया ड्वाँ ड्वाँ कराइरहेका छन्, तिनलाई घाँस पराल हाल्ने अवस्था छैन । कुखुरा, सुँगुर, बाँख्राहरु खोरैमा थुनिएका छन् । तिनलाई आहारा दिनेहरु आफ्नै ज्यान बचाउन सुरक्षित स्थल खोज्दै निस्केका छन्। ‘घरमा बाँधेका वस्तुभाउको विजोग भयो’, ढाडमा डेढ वर्षे नाती च्यापेर प्रहरीको रबर बोटमार्फत सुरक्षित स्थानमा आइपुगेकी मनकु्मारी राईले भनिन् ‘हामी त जोगियौं, ती गाइवस्तुको के हुने होला ?’
यसो भनिरहँदा उनका आँखा डम्म भरिएका थिए । उनलाई उद्धार गरेर ल्याएका प्रहरी सान्त्वना दिँदै थिए ‘दिदी कम्तीमा ज्यान बच्यो । यही ठूलो कुरा हो । यसैमा सन्तोक मान्नु ।’ प्रहरीको सान्त्वनाले उनको मन मानेन । नजिकै रहेका जनप्रतिनिधिहरुको टिमलाई उनी गुनासो गर्दै थिइन् । उनीहरु सकेसम्म चौपाया पनि ल्याइदिने बताइरहेका थिए ।
जनप्रतिनिधिले स्थानीयबासीलाई चौपाया पनि सुरक्षित स्थानमा ल्याइदिने आश्वासन दिए पनि यहाँ भने मान्छेलाई पनि घरबाट निस्कन सजिलो छैन । आफ्नै घरबाट बाहिर निस्कन पनि रबरबोट प्रयोग गर्नुपर्ने अवस्था आएको छ । घर नजिकैै मान्छे डुबाउने पानी भरिएको छ । बगेर जाला भन्ने आशा गरेकाहरु झन्झन् पानी थपिएपछि आत्तिएर आफै भाग्ने अवस्थामा पुगेका छन् ।
‘खोला १२ वर्षमा फर्किन्छ भन्थे यहाँ अलि ढिलो फर्कियो’, बेलका ३ का वडा सदस्यसमेत रहेका फाल्गुन कार्की भन्दैथिए ‘तर, हाम्रो सबैथोक सर्वस्व पार्ने गरी फर्कियो । कहिलेसम्म यस्तो अवस्था रहन्छ, थाहा छैन ।’२०४५ को भूकम्पपछि धार परिवर्तन गरेको सप्तकोशी नदीको एउटा भंगालो बुधबार बिहानै गाउँ पस्दा यहाँका हजारौं सर्वसाधारणको उठिबास लागेको छ । दशकौं लगाएर जोरजाम गरेको सिरिखुरी माया मारेर उनीहरु ज्यान बचाउन सुरक्षित स्थलतर्फ लागिरहेका छन् ।
‘खोला गाउँ पसेपछि बसिसक्ने स्थिति नै भएन’, बेलका ३ को सुरक्षित स्थानमा आइपुग्नेहरुको एकै जस्तो स्वर थियो ‘आउन त आइयो, अब घर फर्किन पाइने हो कि होइन, थाहा छैन ।’सप्तकोसीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन चाहेका छैनन् ।े उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ ।
घरमा भएका सबै सामानहरु पोको पारेर ट्रयाक्टरमा लोड गर्दै गर्दा भेटिएकी बेलका ३ की चन्द्रकला राउतको चिन्ता यही थियो । ‘अहिले केही दिनलाई त रामपुरमा बहिनीको घर छ त्यतै बसौंला’, घर नजिकै खोला आइपुग्दा आत्तिएकी उनी भन्दैथिइन् ‘तर, अब यत्रो घरबार छाडेर हिँडिएको छ। कहिले घर आउन पाइने हो केही टुंगो भएन ।’
बुधबार राति अबेरसम्म पनि घर छाड्नेहरुको लर्को छ । उनीहरु सबैको मनमा घर गरेको प्रश्न भने एउटै छ, हामी कहिले फर्कन पाउँछौं होला घर ? यसको उत्तर सम्भवतः कोहीसँग पनि छैन । छ त केवल अनिश्चयले भरिएको आंशका मात्रै । ‘कोशीको यो भंगालो अब सधैंलाई यता पसेको जस्तो देखिन्छ’, बेलकाका मेयर अशोक कार्की भन्छन् ‘सानो भए पो पानी घटेर सुक्ला भन्ने आशा गर्नु। ज्यादै ठूलो छ। यो यसै सुक्ने अनुमान गर्न कठिन छ ।’
मेयर कार्कीका अनुसार धार बदलेको कोशीको ठूलो भंगालो गाउँ छिर्दा बेलकाकका ५ र बराहक्षेत्रका २ वटा वडा पूरापूर प्रभावित भएका छन् । कोशीमा पानीको सतह झन्झन् बढ्दै जाँदा यो भंगालोमा पनि पानीको सतह थपिँदो छ ।
‘यो भंगालो मात्रै होइन, यसैगरी पानी थपिँदै जाने हो भने कोशीको मूल भंगालो नै गाउँबाट बग्ने त्रास बढेको छ’, मेयर कार्कीले भने ‘यदि नदी यसैगरी नदी गाउँतिर बढ्दै गयो भने यहाँका पाँच र बराहक्षेत्रका २ वडा सधैंका लागि कोशीको घेरामा पर्ने निश्चित छ ।’
गहिरो डोबससिहत कोशीको भंगालो गाउँतिर सोझिएका कारण अब त्यसलाई मानवीय प्रयासले पुरानै धारमा फर्काउन गाह्रो हुने स्थानीयबासी बताउँछन् । ‘नहर जत्रो भए पो फर्काउन सकिन्छ कि भन्नु, खोला नै पसेको छ’, बेलकाकै स्थानीयबासी कुमार राउतले भने ‘गाउँतिर सोझिएको भंगालो ज्यादै गहिरो छ । पानी पनि ठूलो छ। त्यसैले अब यो गाउँतिर सधैंलाई पसेजस्तो देखिन्छ ।’
लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो । तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन् ।
बुधबार दिनभर बाढी प्रभावित क्षेत्रमा रहेका प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीका अन्सार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन् । बाढी पसेको घरका मानिसहरू स्थानान्तरण गरिएको छ । उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ । कोही भने आफन्तका घरमा गएका छन् । सुनसरीको श्रीलंका टापुमा फँसेका ५०० परिवारका सदस्यहरु भने अहिलेसम्म गाउँमै छन् । उनीहरु अग्लो ठाउँमा रहेका कारण आफूहरु सुरक्षित रहेको बताइरहेका छन् । मन्त्री कार्कीले पानीको सतह नघटेसम्म उद्धार बाहेक अरु केही गर्न सक्ने अवस्था नभएको बताए ।
बुधबार साँझसम्ममा कोशीको पानी बेलकाकै भागलपुर क्षेत्रसम्म प्ुगेको सूचना आएको मन्त्री कार्कीले जानकारी दिए । ‘उद्धारको काम रातैभरी चल्नेछ’, उनले भने ‘प्रदेश सरकारले खाद्यान्न, अन्य सामग्री आपूर्ति गरिसकेको छ ।’ अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको जनाउँदै उनले राहत र उद्धारमा कुनै कमी हुन नदिने दृढता व्यक्त गरेका छन् ।

