विराटनगर । साउन १० गते उद्योग तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले विराटनगर जुटमिल्स चलाउने उद्घोष गरे । तर, जुटमिल्स उद्योगमा लामो समयदेखि काम गरेर अनुभव प्राप्त गरेका जुट उद्योगका जानकार मोहनचन्द्र घिमिरे जुटमिल्स सञ्चालन धेरै गाह्रो विषय रहेको बताउँछन् ।
जुटमिल सञ्चालन गर्नको लागि एकातिर कामदार छैनन भने अर्कोतिर तयारी जुटको बजार पनि नेपालमा छैन । त्यति मात्र नभएर कच्चा जुट पर्याप्त नहुने मात्र नभएर उत्पादनले भारत र बंगलादेशको उत्पादनसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्था नरहेको घिमिरेको तर्क छ ।
त्यसो त जुटमिल सञ्चालनको चर्चा बडुले मात्र नभएर यसअघिका अधिकांश उद्योगमन्त्रीले गर्दै आएका छन् । महेश बस्नेत उद्योगमन्त्री भएको बेला २०७५ असोज ३० गते जुटमिल सञ्चालन भएर उत्पादन सुरु भएको प्रचार गरिएको थियो । तर, मिल बन्द भयो ।
अहिले जुटमिल्स बन्द मात्रै छैन, सो क्षेत्र खण्डहर जस्तै बनेको छ । अहिले मिल्सको हेरचाह गर्ने एक जना पनि मानिस छैन । जुटमिल्स भित्रका विभिन्न सामान चोरी भइरहेको छ । सय सय वर्ष पुरानो संरचना भएकोले मिल जीर्ण बनेको पूर्वकर्मचारी तारानाथ तिम्सिना बताउँछन् ।
विराटनगर जुट मिल्स वि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो । मिल २०६५ सालपछि बन्द छ । मिल्सले दैनिक १५ देखि २० टन उत्पादन गर्नसक्ने क्षमता थियो । तर, लगातारको घाटापछि मिल बन्द भएको हो ।
सुरुमा बन्द भएको केहि समयसम्म मिल चलाउने भन्दै केही कर्मचारीलाई विदा गरिएको थिए । त्योबेलाका अर्थात २०७३ साल जेठदेखि २०७७ सालसम्मका ४६ जना कर्मचारीको पारिश्रमिक समेत मिल्सले अहिलेसम्म दिन सकेको छैन । कर्मचारीको तलब मात्रै झण्डै ३ करोड रहेको अनुमान छ ।
जुटमिलका पूर्वअध्यक्ष बसन्त वन भने सरकारले जुटमिल चलाउन सहजीकरण गरिदिए पुग्ने दावी गर्छन् । उनी सरकार अहिले मिल्स चलाउने गृहकार्यमा गम्भीरतापूर्वक लागेको आफूले पाएको पनि बताउँछन् ।
अध्यक्ष हुँदा जुटमिलको शेयर हडप्ने प्रयास गरेपछि विवादित बनेका पूर्वअध्यक्ष निलहरि काफ्ले भने जुट मिल्स चल्न उपर्युक्त वातावरण बनाउनुपर्ने बताउँछन् । उद्योग चलाउने हो भने मेसिन र नीति नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । सरकारको नियन्त्रणमा राखेर मिल नचल्ने उनले दावी गरे ।
जुट मिल्स संचालनका लागि सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, उदयपुरलगायत जिल्लामा गरी अहिले १८ हजार मेट्रिक टन जुटको कच्चा पदार्थ उत्पादन हुने गरेको अनुमान छ । तर, सरकारको आधिकारिक तथ्यांकमा भने कच्चा जुटको उत्पादन १० हजार मेट्रिक टन मात्रै छ । मोरङ र सुनसरीमा अहिले पनि ५ वटा जुटमिल्सहरु संचालनमा छन् । ती जुट उद्योगबाट वार्षिक ६५ हजार मेट्रिक टन तयारी वस्तु उत्पादन भइरहेको छ ।
निजी क्षेत्रका उद्योगमा हाल १३ हजार जना मजदुर कार्यरत छन् । केही वर्ष अघिसम्म ती जुट उद्योगमा २० हजारभन्दा धेरैले काम गर्ने गरेका थिए । अहिले त्यो संख्या कटौती भएको हो ।
सरकारले निर्यातमा सामान्य अनुदान दिएकोले नै निजी क्षेत्रका उद्योग टिकिरहेको घिमिरे बताउँछन् । सरकारले जुट उद्योगलाई बिजुली, र स्पेयर्स पार्टस् आयातमा अनुदान दिएको छ ।
नेपालमा उत्पादिन जुटको तयारी बस्तुको ९० प्रतिशत भारत निर्यात गर्नुपर्छ । भारत र बंगलादेश आफैं राम्रो जुट उत्पादक मुलुक भएकोले नेपालमा उत्पादित जुटका तयारी वस्तुले दुवै देशसँग प्रतिस्पर्धा गर्न चुनौति रहेको उद्योगीहरु बताउँछन् । अर्कोतिर नेपालका उद्योगले खपत गर्ने जुटको ३० प्रतिशतमात्रै कच्चा जुट नेपालमा उत्पादन हुन्छ ।
उद्योगमन्त्री बडुले पूर्ण रुपमा उत्पादन बन्द रहेको विराटनगर जुट मिल्स सञ्चालनमा ल्याएर स्थानीयको रोजीरोटी सुनिश्चित गर्ने दाबी पनि गरेका छन् । ४६ बिघा क्षेत्रफलमा फैलिएको विराटनगर जुट मिलको विभिन्न स्थानमा ६९ बिघा जमिन रहेको छ ।

