लोड हुँदैछ...

मेनु

कटहरीको हुलाकी राजमार्ग अस्तव्यस्त बनेको भन्दै सांसद अमन मोदीको ध्यानाकर्षण

कटहरीको हुलाकी राजमार्ग अस्तव्यस्त बनेको भन्दै सांसद अमन मोदीको ध्यानाकर्षण

विराटनगर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ पूर्जी काट्नु शान्ति सम्झौता विपरीत हुने बताएका छन् ।

प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका मोदीले विप्लवसमूहलाई विगतमा सरकारले गरेको तीन बुँदे सहमति अनुसारको व्यवहार गर्न माग पनि गरे ।

उनले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउने भनेर जनताको जग्गा अधिग्रहण गरेको तर मुआब्जा नदिएको प्रति पनि असन्तुष्टि जनाए । ‘अधिग्रहणको लागि जग्गा रोक्का छ । तर, अहिलेसम्म मुआब्जा पनि दिइएको छैन । फुकुवा पनि गरिएको छैन । सरकारले कि त मुआब्जा देओस् कि त जग्गा फुकुवा गरोस्,’ मोदीले भने, ‘जनताको अवस्था भवाह अवस्था छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले विराटनगरको ढल निर्माण तथा खेलमैदान व्यवस्थित गर्न पनि सरकारसँग माग गरेका छन् । ‘भर्खरै आएको बाढीले पनि सुकुमबासीलाई समस्यामा पारेको छ । विराटनगरको ढल निकासलाई कसरी व्यवस्थित गर्ने, विराटनगर खेलमैदान कसरी व्यवस्थित गर्ने, विराटनगरको समग्र विकासलाई कसरी व्यवस्थिति गर्ने भन्ने विषयमा मैले पटकपटक बोल्दै आएको छु । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कटहरीको हुलाकी राजमार्ग निर्माणका क्रममा रहेको भएपनि अव्यवस्थित हुँदा जनतालाई सास्ती भएकोप्रति पनि ध्यानाकर्षण गराए । ‘बाटो बन्दैछ तर, बाटो हिलोमय छ । निर्माण व्यवसायीबाट राम्ररी काम हुन सकेको छैन । कटहरीको जनता आक्रान्त छन् । हिंड्न नसक्ने अवस्था छ । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘ग्रामथानदेखि बाहुनीसम्मको सडकलाई निर्माणलाई कसरी गर्न सकिन्छ भन्ने कुरामा पटकपटक बोलेको छु अहिलेसम्म सुनुवाई हुन सकेको छैन । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

मोदीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि सरकारले मूल्य समायोजन नगरेको भन्दै कारण माग गरे । ‘भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ,’ उनले भने, ‘नेपालको आयल निगमले भने मूल्य घटाएको छैन । यसको कारण के हो ? यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।