विराटनगर । कोरोना संक्रमणको दर बढ्नथालेपछि सरकारले प्रदेश १ का दुईसहित देशभरका १७ अस्पतालमा संक्रमितहरुको निशुल्क उपचार गर्ने भएको छ । सरकारले निशुल्क उपचारका लागि प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोसी अस्पताल विराटनगरमा कोरोना संक्रमित बिरामीको निशुल्क उपचार गर्ने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निशुल्क उपचारका लागि देशभरका १७ वटा अस्पताल तोकेको हो । ती अस्पतालमा उपचार गर्दा बिरामीले कुनै शुल्क तिर्नु नपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमितको उपचार गरेवापत ती अस्पतालहरुलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको उनले बताए ।
सरकारले मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी गरी दुई र बागमती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी पाँच अस्पताल तोकेको छ ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी गरी दुई, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र कर्णली प्रदेशमा कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पतालमा निशुल्क उपचार गर्ने गरी तोकेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा सङ्क्रमितको निःशुल्क उपचार हुने भएको छ ।