धरान । धरानस्थित बराह सहकारीका सञ्चालक, कर्मचारीहरुको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न धरान उपमहानगरपालिकाले विभिन्न निकायहरुलाई पत्राचार गर्ने भएपछि पीडितहरु खुशी भएका छन् ।

सोमबार दिउँसो सीमित संख्यामा उपमहानगरको आर्थिक विकास महाशाखामा पुगेका पीडितहरु आफूहरुको माग वमोजिम पत्र तयार हुँदै गरेको जानकारी पाएर खुशी भई फर्किएका हुन् । आइतबार छानबिन समितिको बैठक हुँदै गर्दा आक्रोशित पीडितहरुले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका थिए भने उनको कार्यकक्षमा तोडफोडसमेत गरेका थिए । सोमबार भने उपमहानगरपालिकामा सीमित संख्यामा मात्र पीडितहरु पुगेका थिए । उनीहरुले शान्तपुर्वक नै आर्थिक विकास महाशाखा प्रमुख तथा छानबिन संयोजक भक्तिराज शर्मासँग अघिल्लो दिनको निर्णय, पत्रको बिषयमा जानकारी लिएका थिए ।

पीडित रामबहादुर परियारले आफूहरु मेयर साम्पाङविरुद्ध नभएको र आइतबारको घटनाप्रति आफूहरु दुःखी भएको पनि बताए । यद्यपि मेयर साम्पाङको बोलीले पीडितहरु आक्रोशित भएको भन्दै उनले तोडफोड, हुलदंगा हुनु गल्ती भएको बताए । अर्का पीडित कमल राईले पनि आफुहरु बराह सञ्चालकविरुद्ध आन्दोलनमा भएको र मेयरको अभिव्यक्तिले पीडितहरु आक्रोशित भएर हिजोको घटना हुन पुगेको बताए । त्यसमा आफूहरुबाट पनि भएको गल्ती महशुस भइसकेको भन्दै उनले आवाज सम्बन्धित निकायमा छिटो पुगोस् भन्ने मात्र चाहेको बताए । धरान उपमहानगरपालिकाले बराह सहकारीका पदाधिकारी र जिम्मेवार कर्मचारीहरुको नाममा रहेको चलअचल सम्पत्ति र बैंकमा स्थिर सम्पत्ति तथा बैंक मौज्जाद रोक्का राख्न विभिन्न ११ वटा निकायमा पत्राचार गर्न पत्र तयार गरेको छ ।

उपमहानगरले बराह सञ्चालक, कर्मचारीहरुको लिष्टसहित उनीहरुको सम्पत्ति, बैंक खाता रोक्का गर्न पत्राचार तयार गरेको हो । छानबिन समितिकीसदस्य सचिवसमेत रहेकी हेमा थलङका अनुसार नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालय सुनसरी, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सहकारी बैंक केन्द्रीय कार्यालयलाई पत्राचार गर्न पत्र तयार भएको छ ।

यस्तै, जिल्ला सहकारी संघ सुनसरी, वचत तथा ऋण सहकारी संघ इटहरी, वचत तथा ऋण केन्द्रीय संघसहकारी बैंक धरान शाखा, सम्पत्ति शुद्धिकरण विभाग ललितपुर र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौंलाई पठाउन पत्र तयार भएको पनि उनले जानकारी दिइन् ।