विराटनगर ।आफूले मुलुकमा विकासको मूल फुटाएको दाबी गरेर नथाक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा सर्वसाधारणले अहिले पनि खोला तरेको पैसा तिर्नुपर्छ ।
झापाको गौरीगन्जलाई मोरङको रतुवामाई जोडने रतुवा खोलामा पुल निर्माण गरे पनि प्रयोगमा आउन नसक्दा खोला तर्दा डुंगा प्रयोग गर्नु पर्छ । मोरङको रतुवामाई क्षेत्र नम्बर २ मा पर्छ । यस क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजालले चुनाव जितेका थिए । नेपालमा मोरङ र झापा नेपालका सुगम जिल्लामा पर्छन् ।
खोलाको बिचमा पुल भएको र सो पुलसम्म जान आउनका लागि बाटो नभएकै कारण जनताले समस्या खेप्दै आएका छन् । मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगंज जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल १४ वर्षदेखि अलपत्र छ । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४÷६५ मा कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले निर्माण गरी सकेपछि खोलाले धार परिवर्तन गरेको थियो ।
‘रतुवामाईका धेरै विद्यार्थी झापामा त्यही खोला हुँदै पढ्न जान्छन् । बर्खा लागेसँगै कोठा भाडा लिएर बस्ने बाध्यता रहेको छ । दैनिक १५ सय भन्दा बढी ओहोर दोहोर गर्छन्’, स्थानीय शिक्षक वीरेन्द्र यादवले भने । खोला तरेबापत स्थानीयले डुंगालाई पैसा तिर्नु पर्ने हुन्छ । रित्तै गए २० रुपैयाँ र साइकलसहित गए ३० रुपैयाँ तिर्नुपर्छ ।मोटर साइकल सहित ८० रुपैयाँसम्म तिर्नु पर्छ । खोलामा बाढी बढेको बेला भने मोटर साइकलसहित २ सय रुपैयाँ सम्म पनि बुझाउनु परेको स्थानीय बताउँछन् ।
राजमार्गको चाप कम गर्ने उद्देश्यले प्रदेश १ को राजधानी विराटनगरदेखि झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत त्यो पुल निर्माण गरिएको हो । सडक डिभिजन कार्यालय अन्तर्गतको सुनसरी–मोरङ पुल आयोजनाले कालिका ओभरसिज प्रालिमार्फत दुई सय पाँच मिटर लम्बाइ र साढे सात मिटर चौडाइको पुल निर्माण गरेको थियो । पुल निर्माण सकिए लगत्तै खोलाले धार बदलेर पुल भन्दा झन्डै १ सय मिटर वरै आएको छ । पुलको पूर्वपट्टि करिब सय मिटर क्षेत्रमा तटबन्ध गरेर पुललाई सडकसम्म नजोड्दा सर्वसाधारणले पुलको प्रयोग गर्न नपाएका हुन् ।
पुलसम्म पहुँचका स्थानीयले पैसा सकंलन गरेर अस्थायी तटबन्ध गरेका छन् । ७ लाख सङ्कलन गरेर बोरामा माटो भरेर राखेर झापातिरबाट साना सवारीका साधन पुलसम्म आइपुग्ने गरी तटबन्ध बनाएको गंगाप्रसाद गनगाइँले बताए । उनी एक मन्दिरका पुजारी हुन् । उनले नै स्थानीय तहबाट ठेक्का पारेर ‘बोट’ सञ्चालन गरिरहेका छन् ।
चार पाँच जना युवालाई सिंहले बोट चलाउने काममा परिचालन गरेका छन् । यात्रु बोकेर ओहोर दोहोर गर्दा डुंगा अनियन्त्रित समेत हुने गर्छ । अनिन्यन्त्रित भएपछि युवाहरू डुंगामा झुन्डिएर यात्रुलाई गन्तव्यसम्म पुर्याउने गरेका छन् ।
‘डुंगा चलाउने युवाहरूलाई पारिश्रमिक दिएर उब्रेको पैसाले एक साइडमा अस्थायी ड्याम बनायौ’, उनले भने ‘अब यसपटक पनि सरकारले कुनै योजना अगाडि बढाएन भने अर्काे मोरङ खण्डमा पनि अस्थायी ड्याम बनाएर साना सवारीका साधन चलाउने योजना रहेको छ ।’ उनले केपी ओली प्रधानमन्त्री भएको बेला पटक पटक पुलको समस्या समाधान गर्ने बताए पनि काम नगरेको आरोप लगाए ।
‘ओलीजी प्रधानमन्त्री भएको बेलामा पटक पटक अनुगमन गरेर अब यो खोलाको पाता फर्काउने भनेर भन्नु भएको थियो’ आक्रोशित देखिएका’ उनले भने ‘अहिले त उहाँकै पाता फर्किए जस्तो छ ।’ उनले मिनेन्द्र रिजाल चुनावको बेला मात्रै पुलको समस्या समाधान गर्ने उल्लेख गरेको बताए । ओली र रिजालकै चुनावी घोषणा पत्रमा पुललाई थप गरेर सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए । अब आउने चुनावको घोषणा पत्रमा मात्रै पुल बन्ने भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
झापाको गौरीगन्ज गाउँपालिकाले भने डुंगासमेत ठेक्कामा लगाउने गरेको छ । जनतालाई आवत जावत गर्न सहज बनाउनु पर्ने भए पनि राजश्व उठाउने नाममा गाउँपालिकाले एक लाख पचास हजार रुपैयाँ ठेक्का लगाएको छ । खोलामा १२ महिना नै डुंगा चल्ने भएकाले ठेक्का लगाइएको गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले बताए । डुंगालाई व्यवस्थित गर्नका लागि कर उठाउनु पनि आवश्यक रहेका उनले बताए ।
सात वर्षअघि सो खोला तर्ने क्रममा डुङ्गा पल्टिँदा खोलाले बगाएर चार जनाको मृत्यु भएको थियो । तीन जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरू अहिलेसम्म फेला पर्न सकेका छैनन् । खोलामा पुल निर्माण भएको १४ वर्ष भए पनि पुल डिभिजन कार्यालय इटहरीले लम्बाइ कम भएको भन्दै तत्कालीन समयमा बढाउने प्रयत्न गरेको थियो । तर, सडक विभाग अन्तर्गतको पुल महाशाखाले अनुमति दिएन । प्रयोगविहीन अवस्थामै पुल एक वर्षअघि संघीय सरकार मातहतको हुलाकी सडक आयोजनालाई हस्तान्तरण गरिएको थियो ।
हुलाकी सडक आयोजना इटहरीका डिभिजन प्रमुख इन्जिनियर विजयकुमार थापाले भने खोलाले धार परिवर्तन गर्दा समस्या भएको बताए । ‘पुल बनाउँदा खोला पुलकोबीचबाट बग्थ्यो । बनिनसक्दै खोलाले दुवैतिर धार परिवर्तन ग¥यो । बनेकै पुलमा दुवैतिर थपेर निर्माण गर्नेभन्दा स्थानीयको अवरोधले पनि काम गर्न सकिएन । अब यही हप्ताभित्र दुवैतिर खोला निर्माण गर्नका लागि ठेक्का निकाल्छौं’ उनले भने ।
मोरङका प्रमुख जिल्ला अधिकारी काषिराज दाहालले हुलाकी राजमार्गको कामको प्रगति सन्तोषजनक नभएको बताएका छन । काम छिटो गर्न निर्देशन दिए पनि सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय इटहरीले ध्यान नदिएको समेत उनले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।