विराटनगर । विगत १० दिनयता नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको बिक्री झण्डै आधाले घटेको छ । निगमबाट विगतको तुलनामा आधामात्र इन्धन बिक्री भएपनि बजारमा खास समस्या देखिएको छैन । यस अघि दैनिक एक हजार किलो लिटर डिजलको माग हुने गरेकोमा अहिले डिजलको माग आधा घटेको नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले जानकारी दिएको छ ।

विगत वर्षमा पनि साउन र भदौ महिनामा इन्धनको माग अरु महिनाको तुलनामा घट्ने गरेको भएपनि यस अनुपातमा भने नघटेको निगमले जनाएको छ ।

नेपालबाट भारत तर्फ व्यापारीहरुले गर्ने इन्धनको तस्करी पछिल्लो समय मूल्यान्तरका कारण करिब बन्द भएको छ । नेपालभा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा यहाँबाट अनौपचारिक रुपमा भारततर्फ हुने निर्यात बन्द भएको एक व्यवसायीले बताए । अर्कोतर्फ विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको र भारतीय आयल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आएका कारण कुनैपनि बेला निगमले मूल्य घटाउनसक्ने आशंकाले व्यापारीहरुले एक दिनका लागि पुग्ने इन्धन मात्र खरिद गरिरहेका छन् । इन्धन स्टकमा राख्दा नोक्सानी हुने भएकोले दैनिक बिक्रीको अनुपातमा मात्र उनीहरुले खरिद गरेका कारण निगमको बिक्री घटेको निगमको बुझाइ छ । तर लामो समय विगतको तुलनामा आधा परिमाणको बिक्रीले पनि बजार सहज हुनुले विगतमा पेट्रोलियम व्यवसायीहरुले के उद्देश्यले बढी इन्धन खरिद गर्दथे भन्ने आशंका भने उब्जिएको छ । निगमले भने खेतीमा इन्धनको प्रयोग नभएका कारणले पनि माग घटेको हुनसक्ने बताएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्नसक्ने संकेत पाउँदा स्टक गर्ने र घट्ने सम्भावना हुँदा थोरै खरिद गर्ने व्यवसायीहरुको प्रवृत्तिनै हो । तर १०–१५ दिनसम्म बजार सहज हुनुले भने विगतमा बजारको माग भन्दा बढी इन्धन बिक्री हुनेगरेको त थिएन भनेर आशंका गर्नेहरुलाई बल पुगेको छ ।
नेपाल आयल निगम विराटनगर डिपोबाट विगतमा दैनिक डिजेल ८ लाख देखि १० लाख लिटर र पेट्रोल ३ लाखदेखि ४ लाख लिटरको माग हुने गरेकोमा अहिले करिव आधाले घटेको प्रादेशिक कार्यालय प्रमुख अशोक साहले जानकारी दिए । ‘पहिले दैनिक डिजेल ८०० देखि एक हजार केएल र पेट्रोल चार सयदेखि पाँच सय केएल डिमाण्ड हुन्थ्यो तर एक हप्तायता भने माग घटेको छ,’ उनले भने ‘अहिले डिजेल ४०० देखि ५०० केएल र पेट्रोल २०० देखि २५० केएल मात्र डिमाण्ड भइरहेको छ ।’

झापा मोरङ सुनसरीका दक्षिणी क्षेत्रबाट पेट्रोलियम पदार्थ चोरी निकासी हुने गरेकोमा अहिले त्यो बन्दजस्तै भएकोले इन्धनको माग घटेको र बजारमा पनि समस्या नभएको विराटनगरका एक व्यापारीले बताए ।

नेपालमा भन्दा भारतमा ६ रुपैयाँ पेट्रोल र डिजेलमा झन्डै १९ रुपैया सस्तो छ । नेपालमा पेट्रोलको मूल्य १८१ रुपैयाँ र डिजेलको मूल्य १७२ रुपैयाँ प्रतिलिटर छ । अहिले भारतमा पेट्रोलको मूल्य १७४.५६ रुपैयाँ र डिजेलको मूल्य १५३.३० रुपैयाँ रहेको छ ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले मधेश प्रदेशका दुई जिल्लासहित सहित १२ जिल्लामा २५९ वटा आधिकारिक बिक्रेता मार्फत् इन्धन आपूर्ति गर्दै आएको छ । झापा इलाम पाँचथर र ताप्लेजुङका जिल्लामा चारआलिमा रहेको कार्यालयले पेट्रोलियम पदार्थको व्यवस्थापन गर्दै आएको छ ।