विराटनगर । मोरङको कानेपोखरी क्षेत्रमा रहेका सामुदायिक वनहरुबाट काठ तस्करी बढेको छ । तस्करी बढे पनि सामुदायिक वन र सरकारी कार्यालयहरुबीच भने वन सुरक्षामा भन्दा आरोप–प्रत्यारोपको जुहारी चल्ने गरेको छ ।

कानेपोखरी गाउँपालिका भित्र तीन वटा सामुदायिक वन तीन क्षेत्रमा रहेका छन् । त्यहाँका ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समिति क्षेत्र नं. १, २, र ३ नं. छन् । यी तीन वटै सामुदायिक वनबाट अहिले रातको समयमा सालको काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।

राति आठ बजेपछि र विहानीपखा तस्करी धन्दामा लाग्ने गिरोह चारकोशे जंगलभित्र प्रवेश गरेर सालको काठ तस्करी गरी स्थानीय काठ मिल र फर्निचरमा पुर्याउन सक्रिय रहेको पाइएको हो । तस्करहरूले रूख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्को समूह र गन्तब्यसम्म पु¥याउने छुट्टै समूह प्रयोग गर्दछन् ।

यसरी सामुदायिक वन भित्रबाट चोरी भएको ४४ क्यूफिट सालको काठ बिहीबार बरामद गरेपछि काठको तस्करी धन्दा बाहिर आएको हो । कानेपोखरी ४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी स्थानीय काठ मिलमा बिक्री गरेको सूचनाको आधारमा उपभोक्ता समितिका सदस्य, वनका कर्मचारी र सशस्त्र प्रहरीको टोलीले ४४ क्यूफिट सालको काठ कानेपोखरी ५ र ६ नं. वडाबाट बरामद गरेको हो । यसअघि पनि ग्रामीण सुधार सामुदायिक वनबाट चोरी तस्करी भएर गएको काठ उपभोक्ता समिति र प्रहरीले बरामद गरेको थियो ।
सामुदायिक बनको आन्तरिक समस्याका कारण ग्रामीण सुधार वनबाट पाँच वर्षदेखि जंगलभित्र लडेका रूखहरूको घाटगद्दी हुन सकेको छैन । लडेका रूखहरू जंगलभित्र रहँदा चोरी तस्करी धन्दामा पल्किएको समूहको नजर सालको काठमा परेको स्थानीयबासी बताउँछन् । ग्रामीण सुधार सामुदायिक वनभित्र अधिक मात्रामा सालको काठे छ ।

एक हप्ता अगाडिबाट बनभित्रबाट चोरी भएको काठ बरामद गरेको ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष नविन राईले बताए । सामुदायिक वनले चोरी तस्करी नियन्त्रणको लागि आठ जना हेरालु राखेको छ । उपभोक्ता समितिले पनि दैनिक रूपमा वनको सुरक्षा गर्ने गरेको छ । तर, पनि वनको काठ तस्करीमा पल्किएको समूहले रातको समयमा चोरी तस्करी गर्ने गरेका छन् ।

कानेपोखरी सब डिभिजन प्रमुख तुलसीबहादुर यादवले सामुदायिक वनको समिति निस्क्रिय भएको कारणले वनभित्र चोरी तस्करी बढेको बताए । तस्करी भइरहेकोले यसको रोकथाम र नियन्त्रणमा चुनौती बढेको उनले बताए ।

पछिल्लो समय वनरक्षकहरूको अभावका कारण पनि कानेपोखरी क्षेत्रमा काठ तस्करी बढ्दै गएको पाइन्छ । तस्करहरूले काठ कानेपोखरीको मिल र फर्निचर उद्योगमा लगेर बिक्री वितरण गर्दै आएका छन् । सव डिभिजन कार्यालयले चोरी तस्करी बढेको जनगुनासो आएकोले वनको सुरक्षा बढाएको जनाएको छ । राष्ट्रिय सम्पत्तिको रूपमा रहेको वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने कार्यालयको भनाइ छ ।