विराटनगर । अब प्रदेश १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिन सकिने छ ।
लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा विराटनगरबाट नै दिने व्यवस्था मिलाइएको यातायात व्यवस्था तथ सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिएका छन् । यसअघि भने विराटनगरका सेवाग्राहीले इटहरीबाट लाइसेन्स लिने गरेका थिए ।
प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स लिनका लागि अनलाइन फाराम भर्न शुरू गरिएको छ । बुधबार देखि नै अनलाईन फाराम भर्ने ब्यबस्था मिलाइएको मन्त्री घिमिरेले बताए ।
अब एकहप्ता भित्र नै ट्रायल र लिखित परीक्षा दिने व्यवस्था मिलाउने उनले बताए ।
प्रदेश १ मा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट लाइसेन्स वितरण गर्ने गरिएको थियो । विराटनगरबाट लाइसेन्स दिन थालेपछि इटहरी कार्यालयमा सेवाग्राहीको चाप कम हुने अनुमान गरिएको छ ।

